Skip to content

सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवबीच भेट, यी विषयमा भयो छलफल

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे ।

उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए ।

उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो । उनले नागरिक उडययन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गरे ।

सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उनलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताए ।

उनले भारतको संसदलाई लोकतन्त्रको दृढ संरक्षकका रूपमा सधैँ उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै आफ्नो गौरवपूर्ण इतिहासमा भारतको संसदले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सभामुख अर्यालले नयाँ प्रतिनिधि सभाको गठनपछि माननीय बिपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै उक्त समूहले अन्तर–संसदीय सहयोगलाई नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले संसदीय कूटनीतिले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले दुवै देशका सांसदहरूबीच आपसी समझदारी, अनुभव आदानप्रदान तथा एकअर्काका प्राथमिकता र आकांक्षाप्रति सम्मान अभिवृद्धि गर्ने बताए ।

सभामुख अर्यालले भारतले संसदीय प्रक्रियाको प्रभावकारिता, पारदर्शिता र पहुँच अभिवृद्धिका लागि डिजिटल समाधान तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ लगायतका प्रविधिमैत्री अभ्यास अवलम्बन गरेकोमा प्रशंसा व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा प्रविधिमैत्री विधायी अभ्यासबाट ज्ञान आदान–प्रदानको अपेक्षा व्यक्त गरे ।

उनले नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नेपालको विकास प्रयासमा भारतको निरन्तर सद्भावना र सहयोग महत्त्वपूर्ण रहेको बताए । साथै, नेपाल र भारतले आपसी सहकार्य र साझेदारीमार्फत साझा शान्ति, समृद्धि र प्रगतिका निम्ति निरन्तर मिलेर कार्य गर्ने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सम्माननीय सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सम्माननीय सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिए ।

उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi