काठमाडौं । नेकपा (एमाले) का सांसद ऐनबहादुर महरले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको विषयलाई लिएर प्रतिनिधिसभामा सरकारको चर्को आलोचना गर्दै सरकारविरुद्ध ‘मुर्दावाद’को नारा लगाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्। उनले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाउने अवस्था सिर्जना हुनु राज्यको असफलता भएको टिप्पणी गरे।
उनले इतिहास स्मरण गराउँदै योगमाया न्यौपानेले अरुण नदीमा जलसमाधि लिएपछि तत्कालीन राणा शासनविरुद्ध जनचेतना बढेको प्रसंग उल्लेख गर्दै गणेश नेपालीको घटनाले पनि सरकारलाई गम्भीर रूपमा जिम्मेवार बन्नुपर्ने अवस्था सिर्जना गरेको बताए।
सांसद महरले गणेश नेपालीका परिवारलाई तत्काल भेट्न नदिइएको तथा शवसमेत परिवारलाई हस्तान्तरण नगरिएको आरोप लगाए। उनका अनुसार घटनापछि गृहमन्त्री शुदन गुरुङ घटनास्थलमा पुगेका थिए। सरकारले पीडित परिवारप्रति संवेदनशील व्यवहार गर्नुपर्ने उनको भनाइ थियो।
उनले सरकारले नागरिकमाथि दमन गर्ने प्रवृत्ति त्याग्नुपर्ने र आत्मदाहजस्ता घटना दोहोरिन नदिन राज्यले नागरिकका समस्या समाधानमा ध्यान दिनुपर्ने बताए। सुकुम्बासी तथा विपन्न नागरिकका समस्या समाधान गर्न नसक्दा यस्ता दुःखद घटना बढ्दै गएको उनको आरोप थियो।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको थियो।









प्रतिक्रिया दिनुहोस्