काठमाडौं । बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली सेनालाई रु ७५ लाख ६२ हजार ३००, नेपाल प्रहरीलाई रु ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरी बललाई रु एक करोड १६ लाख ८३ हजार ५२२ बराबरका विपद् पूर्वतयारीका सामग्री उपलब्ध गराएका हुन । हस्तान्तरण गरिएका सामग्रीमा अत्याधुनिक ड्रोन तथा बाढीबाट उद्धारका लागि आवश्यक उपकरण समावेश छन् ।
यसअघि मुख्यमन्त्री बानियाँले वर्षाजन्य तथा अन्य विपद्को पूर्वतयारी, राहत सामग्री व्यवस्थापन र सुरक्षा संयन्त्रको उच्च सतर्कताबारे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूसँग छलफल गरेका थिए।
सो अवसरमा उनले वर्षा सुरु भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद् पूर्वतयारीलाई उच्च प्राथमिकतामा राखेको बताए। मुख्यमन्त्री बानियाँले विगतका विपद्बाट प्राप्त अनुभवका आधारमा सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणालीको समन्वय र सुदृढीकरण तथा उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे।
उनले प्रदेशभरका सम्भावित बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अध्ययन भइरहेको जानकारी दिँदै विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। प्रदेशभित्रका गाउँपालिका र नगरपालिकाबीच सूचना आदानप्रदानलाई व्यवस्थित बनाइने पनि उनले जानकारी दिए ।
बागमती प्रदेश सरकारले नुवाकोट र हेटौँडा उपमहानगरपालिकाको थानाभ¥याङमा विपद् व्यवस्थापनका लागि आवश्यक राहत सामग्री तथा उपकरण भण्डारण गरिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्