काठमाडौं । बागतमी प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताए।
ठमेल पर्यटन विकास परिषद्को आज यहाँ आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा निर्वाचनका क्रममा उहाँले नेपालको पर्यटन क्षेत्रको विकासमा ठमेलको योगदान महत्वपूर्ण भएको बताए ।
मन्त्री श्रेष्ठले बागमती प्रदेशले पर्यटन प्रवर्द्धन र पर्यटक पूर्वाधारको विकासका लागि आर्थिक वर्ष २०८३÷८४ का लागि चार अर्ब बजेट विनियोजन गरेको बताए। उनले ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका कतिपय व्यवसायी घरभाडा समेत तिर्न नसक्ने अवस्थामा परेको उल्लेख गदै त्यस्ता व्यवसायीको पनि समस्याका लागि परिषद्ले काम गर्नुपर्ने उल्लेख गरे ।
काठमाडौँ महानगरपालिका–१६ की वडाअध्यक्ष रोजिना श्रेष्ठले सुरक्षित, व्यवस्थित र प्रविधियुक्त ठमेल निर्माणका लागि परिषद्ले काम गर्नुपर्नेमा जोड दिए । नेपाललाई विश्वस्तरमा चिनाउनका लागि ठमेल क्षेत्रले सहयोग पु¥याउँदै आएको उनको भनाइ छ ।
नेपाल एसोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपाल आउने अधिकांश विदेशी पर्यटक ठमेल एकपटक आउने गरेको बताउँदै पछिल्लो समय ठमेल साँघुरो हुँदै गएको बताए। हवाई क्षेत्रमा लगानी नबढ्दासम्म नेपालको पर्यटक क्षेत्रले गति लिन नसक्ने उनको भनाइ थियो ।
परिषद्का अध्यक्ष धु्रव अधिकारीले ठमेल क्षेत्रको विकासका लागि परिषद्ले व्यवसायी र घरधनीसँग सहकार्य गरेर काम गरिरहेको बताए। उनले अन्तरराष्ट्रिय स्तरको रुपमा रहेको ठमेललाई सङ्घीय सरकारले विशेष योजना बनाएर विकास गर्नुपर्ने उल्लेख गरे।
परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, उपाध्यक्ष सहदेव धमला (विमल), महासचिव बद्री तिमल्सिनालगायतले ठमेल क्षेत्रलाई विशेष पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । विंस २०४८ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ५०० भन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् ।









प्रतिक्रिया दिनुहोस्