काठमाडौं । नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी नगर्ने बीमा कम्पनीविरुद्ध उजुरी दिन आग्रह गरेको छ । प्राधिकरणले आवश्यक विवरणसहित उजुरी दिन माग गरेको हो ।
बीमाको दायित्व निर्धारण, दाबी भुक्तानीमा बीमक र सर्भेयरले कानून विपरीत काम गरेको भन्दै उजुरी माग गरेको हो ।
‘’बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा केही बीमक, बीमकको कर्मचारी तथा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा नेपाल बीमा प्राधिकरणमा विभिन्न गुनासाहरू प्राप्त भइरहेको छ । कुनै बीमक, बीमकको कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुखः दिएमा, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्यांकन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुन विपरीत कार्य गरेको भए त्यस्तो कार्यमा संलग्न व्यक्तिका विरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाहीको लागि सम्बन्धित सबै सरोकारवालालाई प्रमाणसहित उजुरी पेस गर्न यो सूचना प्रकाशित गरिएको छ” सूचनामा भनिएको छ ।
उजुरी पेश गर्दा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको ब्यहोरा, बीमा दाबी नम्बर तथा बीमालेख नम्बर, पुष्टि हुने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण आवश्यक पर्ने छ ।
उजुरी प्राधिकरणको दर्ता शाखामा, प्रत्यक्ष रुपमा उपस्थित भएर वा इमेलमा, हुलाक मार्फत उजुरी दिन सकिनेछ ।









प्रतिक्रिया दिनुहोस्