काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
रास्वपाले जारी विज्ञप्तिमा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गरिएको छ। रास्वपाले स्वतन्त्र, निर्भीक र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
पार्टीले घटनाको तत्काल निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिको पहिचान गर्न, कानुनबमोजिम कारबाही गर्न तथा सञ्चारगृह र सञ्चारकर्मीको भौतिक एवं मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्