काठमाडौं । कान्तिपुर पब्लिकेशन, अनलाइनखबर तथा हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि पत्रकार तथा कर्मचारीहरूको आवतजावत प्रभावित भएको छ।
बिहान करिब साढे ७ बजेतिर तीनकुनेस्थित कान्तिपुर पब्लिकेशनको मुख्य गेट अगाडि एउटा निजी नम्बर प्लेटको गाडी पार्किङ गरिएको थियो। गाडीका कारण कार्यालयमा सवारीसहित प्रवेश तथा बाहिरिने कार्यमा अवरोध पुगेको जनाइएको छ। टेलिभिजनका सवारीसाधनसमेत आवतजावत गर्न नसक्दा रिपोर्टिङका लागि खटिनुपर्ने पत्रकारहरू प्रभावित भएका थिए।
यस्तै, नयाँबानेश्वरस्थित अनलाइनखबरको कार्यालय गेट अगाडि पनि अर्को निजी नम्बर प्लेटको गाडी पार्किङ गरिएको पाइएको छ। गाडीले प्रवेशद्वारको ठूलो भाग ढाकेपछि कार्यालय सञ्चालनमा असहजता उत्पन्न भएको बताइएको छ।
त्यसैगरी मध्यबानेश्वरमा रहेको हिमालय टेलिभिजनको कार्यालय गेट अगाडि पनि अर्को गाडी रोकिएको थियो। तीनवटै स्थानमा भेटिएका सवारीसाधन निजी नम्बर प्लेटका रहेको र ती कसले तथा किन त्यहाँ पार्किङ गरेका हुन् भन्ने खुलेको छैन।
घटनापछि सम्बन्धित मिडिया हाउसहरूले प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पठाइएको बताएका छन्।
“कान्तिपुर र अनलाइनखबरको कार्यालय अगाडि गाडी पार्किङ गरिएको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको छ। घटनाबारे अनुसन्धान हुन्छ र आवश्यक प्रक्रिया अनुसार गाडी हटाइन्छ,” उनले बताए।
प्रहरीले कान्तिपुर कार्यालय अगाडि पार्क गरिएको गाडीमा ह्विललक लगाएको छ भने अन्य सवारीसाधनबारे पनि अनुसन्धान अघि बढाइएको जनाएको छ।
हालै काठमाडौं महानगरपालिका र ट्राफिक व्यवस्थापनसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यमहरूले आलोचनात्मक समाचार तथा टिप्पणीहरू प्रकाशन–प्रसारण गरिरहेका बेला एकै समयमा प्रमुख मिडिया हाउसका कार्यालय प्रवेशद्वारमै गाडी पार्किङ गरिनुले विभिन्न प्रश्नहरू उठाएको छ। यद्यपि, यस घटनाको उद्देश्य वा पृष्ठभूमिबारे कुनै आधिकारिक पुष्टि भइसकेको छैन।
प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्