काठमाडौं । मुलुकको बाह्य क्षेत्र बलियो बन्दै जाँदा कुल विदेशी विनिमय सञ्चिति (देशको ढुकुटी) मा उल्लेखनीय सुधार आएको छ। आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा २६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा अमेरिकी डलरमा पनि यस्तो सञ्चिति २०८२ असार मसान्तको १९ अर्ब ५० करोडको तुलनामा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड डलर पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ३७.९ प्रतिशतले बढेर रु. ३३ खर्ब ३० अर्ब ७ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको सञ्चिति ६१.८ प्रतिशतले बढेर रु.४२५ अर्ब ५७ करोड कायम भएको छ। यस कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२–८३ को दश महिनासम्मको आयात ट्रेन्डलाई आधार मान्दा अहिलेको बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६१.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको असारमा ४३.८ प्रतिशत मात्र थियो।
यसै अवधिमा चालु खाता रु.८०२ अर्ब ६ करोड र शोधनान्तर स्थिति रु.९२६ अर्ब ६ करोडले बचतमा रहनुका साथै रेमिट्यान्स प्रवाहमा भएको ३८.२ प्रतिशतको उच्च वृद्धिले विदेशी मुद्रा सञ्चितिलाई ऐतिहासिक उचाइमा पुर्याउन मुख्य योगदान गरेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्