Skip to content

संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने सेबोनको प्राथमिकता, ‘स्मार्ट इन्भेष्टमेन्ट’ मा जोड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारमा संस्थागत लगानीकर्ताको भूमिका सशक्त बनाउन विभिन्न सरकारी लगानी संस्थासँग छलफल गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमअनुसार बोर्डले संस्थागत लगानीकर्ताको सहभागिता विस्तारलाई विशेष प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्ने प्रतिबद्धता जनाएको हो।

विश्वका विकसित पूँजी बजारमा संस्थागत लगानीकर्ताको उल्लेख्य सहभागिताले बजारको स्थायित्व, तरलता, मूल्य अन्वेषण (प्राइस डिस्कभरी) तथा विवेकपूर्ण लगानी संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बोर्डको भनाइ छ । नेपालमा व्यक्तिगत (रिटेल) लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढे पनि संस्थागत लगानीकर्ताको भूमिका अझै अपेक्षाकृत सीमित रहेको बोर्डले जनाएको छ ।

दीर्घकालीन वित्तीय स्रोत परिचालन, बजारको स्थायित्व, तरलता, सुशासन तथा सन्तुलित र दिगो वित्तीय प्रणालीको विकासका लागि संस्थागत लगानीकर्ताको सक्रिय, विविधीकृत र जिम्मेवार सहभागिता आवश्यक रहेको बोर्डको निष्कर्ष छ ।

यसै उद्देश्यका साथ बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टको उपस्थितिमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीको लगानी स्वीकृतिसँग सम्बन्धित नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारीसँग बिहीबार छलफल सम्पन्न भएको हो ।

छलफलका क्रममा सम्बन्धित निकायका प्रतिनिधिले हालको लगानी अवस्था, देखिएका चुनौती तथा सुधार एवं सहजीकरण आवश्यक रहेका विषय प्रस्तुत गरेका थिए ।

अध्यक्ष भट्टले अब संस्थागत लगानीकर्ताले परम्परागत लगानी अवधारणाबाट अघि बढेर ‘स्मार्ट इन्भेष्टमेन्ट’ दृष्टिकोण अवलम्बन गर्दै पूँजी बजारको स्थायित्वमा थप प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । उनले आगामी दिनमा यस्ता संस्थाको पूँजी बजारमा लगानी विस्तारका लागि बोर्ड आवश्यक नीतिगत तथा नियामकीय सहजीकरण गर्न तयार रहेको जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi