Skip to content

फिफा विश्वकपको गोल बराबर बिरुवा रोप्दै लक्ष्मी सनराइज बैंक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘द गोल इज ग्रिन’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न डब्लुडब्लुएफ नेपाल र बाँकेको कम्दी सामुदायिक वन समन्वय समिति (कम्दी सीएफसीसी)सँग सहकार्य गरेको छ।

बैंकले फिफा विश्वकप २०२६ का प्रत्येक खेलमा हुने हरेक गोल बराबर एक वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता जनाएको थियो। विश्वकै लोकप्रिय फुटबल प्रतियोगितालाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको बैंकले जनाएको छ।

यस सहकार्यअन्तर्गत डब्लुडब्लुएफ नेपालले अभियान कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने काम्दी सामुदायिक वन समन्वय समितिले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्ने तथा तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ। डब्लुडब्लुएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थितिकीय पुन:स्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको रणनीतिक प्राथमिकतासँगै दीर्घकालीन मूल्य सिर्जनाको आधार रहेको बताउँदै ‘द गोल इज ग्रिन’ अभियानले सामूहिक उत्साहलाई सार्थक जलवायु अभियानमा रूपान्तरण गर्न सकिने विश्वासलाई व्यवहारमा उतारेको उल्लेख गरे । फिफा विश्वकप २०२६ मा भएका प्रत्येक गोल बराबर एक बिरुवा रोप्ने प्रतिबद्धतामार्फत नेपालका लागि दीर्घकालीन वातावरणीय योगदान गर्ने अपेक्षा गरिएको उनले बताए।

डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले वन पुन:स्थापना भनेको केवल रूख रोप्नु मात्र नभई उपयुक्त स्थानमा रैथाने प्रजातिका बिरुवा रोपेर स्थानीय समुदायसँगको सहकार्यमा दीर्घकालीन संरक्षण सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। यस्ता साझेदारीले निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्दै प्रकृति, समुदाय र भविष्यका लागि दीर्घकालीन लाभ सिर्जना गर्न सक्ने उनको भनाइ थियो।

बैंकका अनुसार ‘द गोल इज ग्रिन’ अभियानमार्फत दिगोपनलाई वित्तीय सेवा र उत्पादनमा मात्र सीमित नराखी सामाजिक तथा वातावरणीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको सन्देश दिइएको छ। फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताभर भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धता बैंकले पूरा गरेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi