काठमाडौं । ब्राउन स्पिरिट सेग्मेन्टमा कालापत्थर, ह्वाइट स्पिरिट सेग्मेन्टमा रुस्लान भोड्का र ब्ल्यू डाइमन्ड र रेडी टु ड्रिंकमा रुस्लान आइस टी ब्रान्डका मदिरा बेच्ने जावलाखेल डिस्टिलरीले गत आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणको रेटिङ गराएको छ । गत आर्थिक वर्षको ९ महिनामा यस कम्पनीले सवा एक अर्ब रुपैयाँ बराबरको व्यापार गरेको हो ।
गत आर्थिक वर्षको ९ महिनाको अवधिमा यस कम्पनीले १ अर्ब २३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले सन् २०२५ मा १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब १० करोड रुपैयाँ, सन् २०२३ मा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ६७ करोड ८० लाख रुपैयाँको मदिरा बेचेको थियो ।
सन् २०१३ मा स्थापना भएको कम्पनीलाई यसअघि विजय डिस्टिलरी भनिन्थ्यो । कम्पनीले विभिन्न प्रकारका मदिरा ब्लेन्डिङ र बोटलिङ युनिट स्थापना गरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालन गर्दै आएको छ ।
विजयकुमार साहको पूर्ण स्वामित्व रहेको कम्पनीको देशभर २ सय ४० वटाभन्दा बढी शाखा छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३४ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४७ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।
प्रतिक्रिया दिनुहोस्