काठमाडौं । चीनको एसएआईसी ग्रुप अन्तर्गतको म्याक्सस ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले इलेक्टिक फोर–ह्विल ड्राइभ पिकअप ‘म्याक्सस इ–टेरोन ९ कम्फर्ट’ आज सार्वजनिक गरेको छ ।
यसको सुरुवाती मूल्य ८८ लाख रुपैयाँ निर्धारण गरेको छ । यो विशेष मूल्य योजना पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । हिमालय मोट्रक्सले यसअघि यही मोडलको प्रिमियम संस्करण बजारमा ल्याइसकेको छ । जसको हालको मूल्य १ करोड २८ लाख रुपैयाँ छ ।
यसमा उच्च प्रविधि र शक्तिशाली ब्याट्री क्षमता जोडिएको छ । १०२.२ किलोवाट क्षमताको ब्याट्री राखिएको छ । यो नेपाल आयात हुने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक हो ।
एकपटक चार्ज गरेपछि ५६० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । ११५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले यसको ब्याट्रीलाई करिब ४२ मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीको अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट गरी दुईवटा मोटर जडान गरिएका छन् । यसले कुल ७०० एनएम टर्क उत्पादन गर्छ । गाडीले ५.८ सेकेन्डमै ० देखि १०० किमी/घण्टाको गति लिन सक्छ । यसको अधिकतम गति १९० किमी प्रतिघण्टा छ । गाडीको सामान बोक्ने क्षमता (पेलोड) १,०५० केजी र तान्ने क्षमता (टोइङ) ३,५०० केजी छ ।
नेपालका सबैखाले सडकमा यो गाडी चलाउन सकिने कम्पनीको दाबी छ । गाडीमा २६० एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री छ । डबल विशबोन फ्रन्ट सस्पेन्सन, मल्टी–लिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र अल–टेरेन सिस्टमले चालक तथा यात्रुलाई स्थिर र आरामदायी यात्रा गराउँछ ।
५ जना यात्रुका लागि तयार पारिएको क्याबिनमा १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, अटोमेटिक एयर कन्डिसनिङ र पछाडि छुट्टै एसी आउटलेट राखिएका छन् । कि–लेस इन्ट्री/स्टार्ट, अटोमेटिक हेडलाइट, वान–टच पावर विन्डो र बाहिरी विद्युतीय उपकरणहरू चलाउन मिल्ने सुविधा समेत उपलब्ध छ । यस पिकअपले प्रतिष्ठित युरो एनक्यापबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ ।

हाल काठमाडौं र पोखरामा यो गाडीको शोरुम रहेको छ । त्यही सोरुमबाट बिक्री वितरण भइरहेको कम्पनीका प्रबन्ध निर्देशक सौरभ थापाले बताए । अन्य ६ शहरहरूमा सर्भिस आउटलेटहरू सञ्चालनमा रहेको उनको भनाइ छ ।
कम्पनीले आगामी नाइमा मोविलिटी शोमा म्याक्ससकै लक्जरी माइक्रोबस सार्वजनिक गर्ने तयारी छ ।
कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले नेपालको उकालो–ओरालो र कच्ची बाटाहरुमा यो विद्युतीय पिकअप यात्रा गर्न निकै सहज हुने बताए ।
यो गाडीले नेपाली उपभोक्ताको सोही आवश्यकतालाई पूरा गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्