काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का निवर्तमान अध्यक्ष सीए निलबहादुर सारु मगरको नेतृत्वमा बितेको एक वर्षमा संस्थाले व्यावसायिक अभ्यास, डिजिटल रूपान्तरण, लेखा सेवा निर्यात, अन्तर्राष्ट्रिय सहकार्य तथा संस्थागत सुशासनका क्षेत्रमा विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाएको छ ।
विश्वव्यापी रूपमा लेखा तथा लेखापरीक्षण पेशा कृत्रिम बुद्धिमत्ता (एआई), स्वचालन, डाटा विश्लेषण, डिजिटल अडिट तथा दिगोपन प्रतिवेदनतर्फ उन्मुख भइरहेका बेला आइक्यानले पनि संस्थागत सुधार र पेशागत क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ।
आइक्यानका अनुसार नेपाली लेखा व्यवसायलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउन लार्ज प्राक्टिस डेभलपमेन्ट प्रोजेक्ट सुरु गरिएको छ। यसअन्तर्गत लेखा फर्महरूको संस्थागत क्षमता विस्तार, स्वैच्छिक मर्जरलाई प्रोत्साहन गर्न मर्जर निर्देशिका जारी गरिएको छ भने मार्केटिङ निर्देशिकामा संशोधन गरी व्यावसायिक मर्यादा कायम राख्दै सेवा प्रवर्द्धन गर्न सक्ने व्यवस्था गरिएको छ। यस्तै, संशोधित फर्म दर्ता प्रक्रियामार्फत नियामक निकायको स्वीकृतिमा नेपाली लेखा फर्महरूले विदेशमा शाखा स्थापना गर्न सक्ने कानुनी आधार पनि तयार गरिएको आइक्यानले जनाएको छ।
संस्थाले नेपाललाई अन्तर्राष्ट्रिय अकाउन्टिङ तथा वित्तीय आउटसोर्सिङ गन्तव्य का रूपमा स्थापित गर्ने उद्देश्यले ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल सञ्चालनमा ल्याएको छ। यसअन्तर्गत अवधारणापत्र तयार गरिएको, अकाउन्टिङ आउटसोर्सिङ पोर्टल सञ्चालनमा ल्याइएको, प्रवर्द्धनात्मक भिडियो सार्वजनिक गरिएको तथा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको जनाएको छ। बेलायतमा आयोजित कार्यक्रममा समेत नेपालको सम्भावना प्रस्तुत गरिएको संस्थाको दाबी छ।
चार्टर्ड एकाउन्टेन्सी शिक्षाप्रति युवाको आकर्षण बढाउन देशभर करियर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको आइक्यानले जनाएको छ। यसबाट नयाँ विद्यार्थी भर्ना १ हजार ७०७ बाट बढेर २ हजार ३८८ पुगेको उल्लेख गरिएको छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई करिब ४२ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराइनुका साथै पहिलो पटक क्याम्पस प्लेसमेन्ट कार्यक्रम, प्लेसमेन्ट पोर्टल र मेन्टरसिप पोर्टल सञ्चालनमा ल्याइएको जनाइएको छ।
प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यले डाटा एनालिटिक्स तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी प्रमाणपत्र कार्यक्रम सञ्चालन गरिएको छ। सदस्य तथा विद्यार्थीलाई एआईको जिम्मेवार प्रयोगबारे अभिमुखीकरण गरिनुका साथै डिजिटल आइक्यान कार्यक्रममार्फत सदस्य सेवा, विद्यार्थी सेवा तथा प्रशासनिक प्रक्रियालाई क्रमशः डिजिटल माध्यममा रूपान्तरण गर्ने काम अघि बढाइएको संस्थाले जनाएको छ।
आर्थिक सुशासनसँग सम्बन्धित नीतिगत क्षेत्रमा पनि आइक्यानले सक्रियता बढाएको जनाएको छ। बजेट निर्माणअघि विभिन्न प्रदेशमा पूर्वबजेट अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी सरकारलाई सुझाव पेश गरिएको छ। सहकारी नियमन प्राधिकरणसँग प्रुडेन्सियल अडिट फ्रेमवर्क विकास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग वित्तीय विश्लेषण तथा ठगी अनुसन्धानसम्बन्धी क्षमता विकास कार्यक्रम र सार्वजनिक खरिद अनुगमन कार्यालयसँग सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी प्रमाणपत्र कार्यक्रम विकासका लागि सहकार्य गरिएको जनाइएको छ।
अन्तर्राष्ट्रिय सहकार्य विस्तारतर्फ आइक्यानले चार्टर्ड एकानउन्टेन्ट्स वर्लवाइड (सीएडब्लू) को एसोसिएट सदस्यता प्राप्त गरेको छ। साथै अन्य संस्थासँग सहकार्य विस्तार गरिएको छ भने क्यानडा र दुबईमा नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको संस्थागत सञ्जाल विस्तारका पहल अघि बढाइएको उल्लेख गरिएको छ।
संस्थाभित्रको सुशासन सुदृढ गर्न नियमावली संशोधन, संगठन तथा व्यवस्थापन सर्वेक्षण, पाँच वर्षभन्दा बढी समयदेखि विचाराधीन अनुशासनसम्बन्धी मुद्दाको टुंगो, नयाँ लोगो निर्देशिका तथा त्रैमासिक जर्नल र ई–न्यूज प्रकाशनका काम पनि गरिएको आइक्यानले जनाएको छ। वित्तीय व्यवस्थापनतर्फ अघिल्लो आर्थिक वर्षको करिब १ करोड ९१ लाख रुपैयाँ सञ्चालन घाटाबाट संस्था चालु अवधिमा ८५ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफामा पुगेको दाबी गरिएको छ।
आइक्यानका अनुसार यी सबै पहलमार्फत संस्थालाई परम्परागत नियामक भूमिकामा मात्र सीमित नराखी आर्थिक सुशासन, ज्ञानमा आधारित सेवा निर्यात तथा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक संस्थाका रूपमा विकास गर्ने दीर्घकालीन आधार निर्माण गर्ने प्रयास गरिएको छ।





प्रतिक्रिया दिनुहोस्