काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित रूपमा कर्जा प्रवाह गर्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ। बजारमा कर्जाको माग कमजोर रहँदा बैंकहरूमा ठूलो परिमाणमा रकम निष्क्रिय बसेको छ। यही अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षभर विभिन्न मौद्रिक उपकरणमार्फत २२ अर्ब रुपैयाँभन्दा बढी ब्याज खर्च गर्नुपरेको छ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसक्दा प्रणालीमा थुप्रिएको अतिरिक्त रकमलाई नियन्त्रण गर्न राष्ट्र बैंकले आर्थिक वर्षभर विभिन्न मौद्रिक उपकरण प्रयोग गर्ने गरेको छ । सोही उपकरणहरू मार्फत प्रशोचन गरेको निक्षेप तथा राष्ट्र बैंक ऋणपत्रको ब्याज स्वरूप राष्ट्र बैंकले २२ अर्ब १२ करोड ९३ लाख २६ हजार ७२५ रुपैयाँ ८४ पैसा बराबर भुक्तानी गरेको राष्ट्र बैंकको सह प्रवक्ता सुधा श्रेष्ठले बताइन् ।
राष्ट्र बैंकले बजारमा आवश्यकभन्दा बढी रहेको रकमलाई तानेर मुद्रा आपूर्ति सन्तुलित राख्न यी उपकरण प्रयोग गर्ने गरेको छ। यदि अतिरिक्त तरलता लामो समयसम्म बजारमै रह्यो भने भविष्यमा मुद्रास्फीति तथा वित्तीय असन्तुलनको जोखिम बढ्न सक्ने भएकाले केन्द्रीय बैंकले नियमित रूपमा यस्तो हस्तक्षेप गर्दै आएको राष्ट्र बैंक श्रोतले बतायो ।
राष्ट्र बैंकले अतिरिक्त तरलता व्यवस्थापन निःशुल्क गर्दैन। बैंक तथा वित्तीय संस्थाबाट तानेको रकमबापत अन्तर–बैंक ब्याजदरको आधारमा ब्याज निर्धारण गरेर ब्याज तिर्नुपर्ने हुन्छ । सोही व्यवस्थाको कारण गत आवमा राष्ट्र बैंकले उक्त ब्याज तिरेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोल उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाले राखेको निक्षेपबापत आर्थिक वर्ष २०८२÷८३ मा १३ अर्ब ३० करोड ७९ लाख ५० हजार १७३ रुपैयाँ ९१ पैसा ब्याज खर्च भएको छ।
यसैगरी, स्थायी निक्षेप सुविधा उपकरणमार्फत राखिएको निक्षेपमा ५ अर्ब ७९ करोड ६१ लाख ५२ हजार ३९९ रुपैयाँ १५ पैसा ब्याज तिरिएको छ। यता नेपाल राष्ट्र बैंक ऋणपत्र उपकरणमार्फत बैंकहरूले राखेको रकमबापत ३ अर्ब २ करोड ५२ लाख २४ हजार १५२ रुपैयाँ ७८ पैसा ब्याज खर्च भएको छ।
राष्ट्र बैंक श्रोतका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा १५७ पटक निक्षेप संकलन बोलकबोल सञ्चालन गरिएको छ । यसैगरी, १०१ पटक स्थायी निक्षेप सुविधा प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा प्रशोचन गरेको छ। यसैगरी, नेपाल राष्ट्र बैंक ऋणपत्र गत आवमा १७ पटक निष्कासन भएको छ।
गत आर्थिक वर्षको असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाले कुल ८२ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यसमध्ये वाणिज्य बैंकहरूको हिस्सा ७४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र वित्त कम्पनीहरूले ८ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये वाणिज्य बैंकहरूले ५२ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने विकास बैंक र वित्त कम्पनीहरूको कर्जा लगानी ६ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा–निक्षेप अनुपात अर्थात् सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम गर्न अनुमति दिएको छ। अर्थात् बैंकहरूले आफ्नो निक्षेपको ठूलो हिस्सा कर्जाका रूपमा प्रवाह गर्न सक्ने व्यवस्था छ। तर, आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ७१.०८ प्रतिशत मात्रै रहेको छ। यसले बैंकहरूसँग अझै ठूलो परिमाणमा कर्जा विस्तार गर्ने क्षमता बाँकी रहेको भए पनि बजारमा पर्याप्त माग नहुँदा रकम निष्क्रिय बसेको राष्ट्र बैंक श्रोतले बतायो ।
यसैगरी बैंकिङ प्रणालीमा तरलता सहज रहेको अर्को संकेत अन्तर–बैंक ब्याजदरले पनि दिएको छ। असार ३१ गतेसम्म स्थानीय मुद्रामा बैंक तथा वित्तीय संस्थाबिच हुने अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत मात्रै रहेको छ। सामान्यतया अन्तर–बैंक ब्याजदर न्यून रहनु भनेको बैंकहरूसँग पर्याप्त तरलता रहेको संकेत भएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
पछिल्लो समय बैंकहरुमा पैसा पर्याप्त भएपति कर्जाको माग न्यून छ । गुणस्तरीय कर्जाको माग अभाव रहेको बैंकहरुले बताउँदै आएका छन्। पछिल्ला केही वर्षयता निजी क्षेत्र नयाँ लगानीमा सावधानी अपनाइरहेको छ। उद्योग, व्यापार, निर्माण, पर्यटन तथा आवास क्षेत्रमा अपेक्षित विस्तार हुन नसक्दा कर्जाको माग कमजोर बनेको छ। सरकारको पुँजीगत खर्चले पनि अपेक्षित गति लिन नसक्दा निजी क्षेत्रको आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान हुन सकेको छैन। त्यसको असर बैंकहरूको कर्जा विस्तारमा देखिएको छ ।
अर्कोतर्फ बैंकहरूले पनि जोखिमपूर्ण क्षेत्रमा कर्जा विस्तार गर्नुभन्दा सुरक्षित लगानीलाई प्राथमिकता दिइरहेका छन्। निष्क्रिय कर्जा बढ्न नदिन बैंकहरू ऋण स्वीकृतिमा सतर्क देखिएका छन्। परिणामस्वरूप बैंकहरूसँग पर्याप्त स्रोत हुँदाहुँदै पनि त्यसको ठूलो हिस्सा राष्ट्र बैंकमै बसेको छ ।
प्रतिक्रिया दिनुहोस्