Skip to content

अमेरिकी शुल्कविरुद्ध ब्राजिल डब्लुटिओमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ब्राजिलका विभिन्न उत्पादनमा लगाएको अतिरिक्त आयात शुल्कविरुद्ध ब्राजिलले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा औपचारिक परामर्शको माग दर्ता गरेको छ ।

ब्राजिलले अमेरिकी कदम अन्तर्राष्ट्रिय व्यापार नियमविपरीत र अन्यायपूर्ण रहेको दाबी गरेको छ ।

ब्राजिलको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार जुलाई २७ मा डब्लुटिओको विवाद समाधान संयन्त्रअन्तर्गत अमेरिकासँग परामर्शका लागि औपचारिक अनुरोध पेश गरिएको हो । मन्त्रालयले अमेरिकी शुल्क अन्तर्राष्ट्रिय व्यापार नियमसँग मेल नखाने र असङ्गत रहेको जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले यसै महिनादेखि ब्राजिलका धेरै उत्पादनमा दुई चरणमा नयाँ शुल्क लागू गरेको थियो । अमेरिकाले कथित अनुचित व्यापार अभ्यासका आधारमा २५ प्रतिशत तथा जबर्जस्ती श्रम प्रयोग गरिएको आरोपमा थप १२.५ प्रतिशत शुल्क लगाएको जनाएको छ ।

डब्लुटिओको प्रक्रियाअनुसार परामर्शको अनुरोध विवाद समाधानका लागि प्यानल गठन हुनुअघिको प्रारम्भिक चरण हो ।

ब्राजिलले यसअघि सन् २०२५ मा पनि यस्तै प्रक्रिया अपनाएको थियो । त्यसबेला अमेरिकाले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोसँग सम्बन्धित मुद्दालाई लिएर ब्राजिलमाथि ५० प्रतिशत शुल्क लगाएको थियो र त्यसलाई पछि अधिकांश रूपमा फिर्ता लिइएको थियो ।

हाल ब्राजिलमा आगामी अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनअघि राजनीतिक तनाव बढिरहेको छ । पूर्वराष्ट्रपति बोल्सोनारोका छोरा तथा दक्षिणपन्थी उम्मेदवार फ्लेभियो बोल्सोनारो वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग प्रतिस्पर्धामा छन् ।

राष्ट्रपति लुलाले फ्लेभियो बोल्सोनारोले निर्वाचनमा राजनीतिक लाभ लिन अमेरिकी शुल्कको दबाबलाई प्रोत्साहन गरेको आरोप लगाए । तर फ्लेभियो बोल्सोनारोले उक्त आरोप अस्वीकार गरे ।

यसैबीच, कूटनीतिक स्रोतका अनुसार ब्राजिलले निर्वाचनअघि त्यहाँका निर्वाचन अधिकारीहरूसँग भेटघाट गर्ने उद्देश्यले जान चाहेका दुई अमेरिकी अधिकारीलाई प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi