Skip to content

आईपीओ पाइपलाइनमा रहेको निभिक्स फर्मास्युटिकल्सको आम्दानी ११ करोड ३० लाख, ईबिट्डा मार्जिन भने घट्दो 

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको प्रक्रियामा रहेको निभिक्स फर्मास्युटिकल्स लिमिटेडले गत आर्थिक वर्षको ९ महिनासम्मको व्यवसायीक विवरणको रेटिङ गराएको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ११ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भए पनि नाफा मार्जिन भने अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ।

रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष सन् २०२५ मा ८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। गत आर्थिक वर्षको पहिलो नौ महिनामै उक्त आम्दानी बढाउन कम्पनी सफल भएको छ।

यद्यपि, कम्पनीको ईबिट्डा मार्जिन आर्थिक वर्ष सन् २०२५ मा ४०.९६ प्रतिशत रहेकोमा गत आवको नौ महिनामा घटेर २७.८९ प्रतिशतमा सीमित भएको छ। यसले आम्दानी बढे पनि नाफाको मार्जिनमा दबाब परेको देखिन्छ ।

कम्पनीको ब्याज भुक्तानी क्षमता मापन गर्ने इन्ट्रेस्ट कभरेज रेसियो १.३६ पुगेको छ भने चालु अनुपात (करेन्ट रेसियो)  ०.६९ बाट सुधार भएर ३.०२ पुगेको छ। त्यस्तै, कुल ऋण र ईबिट्डा मार्जिनको अनुपात १२.८५ बाट घटेर १०.६९ मा झरेको छ ।  जसले कम्पनीको वित्तीय दायित्व व्यवस्थापनमा सुधार देखाएको छ।

कास्कीको पोखरामा प्रधान कार्यालय रहेको कम्पनीको उत्पादन प्लान्ट तनहुँको व्यास–१० मा रहेको छ। जुन २०२६ सम्म कम्पनीले १०९ वटा उत्पादनका लागि उत्पादन अनुमति र ७८ वटा उत्पादनका लागि बजारीकरण अनुमति प्राप्त गरेको छ। हाल कम्पनीका ७२ वटा औषधिजन्य उत्पादन नेपाली बजारमा बिक्री–वितरण भइरहेका छन्।

कम्पनीको प्रमुख सेयरधनी इन्द्र बानियाँ हुन् । उनको यस कम्पनीमा सेयर स्वामित्व करिब १७ प्रतिशत रहेको छ। निभिक्स फर्मास्युटिकल्सले १३ लाख ७५ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आधारमा १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नको लागि बोर्डमा आवेदन दिएको हो ।  कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T