Skip to content

सरकार र एनआरएनएकाे सहकार्यमा ‘विश्व नेपाली ज्ञान सम्मेलन–२०२७’ हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को तयारीलाई तीव्र बनाएको छ। सम्मेलनको तयारीका सम्बन्धमा एनआरएनएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सम्मेलनको अवधारणापत्र (कन्सेप्ट पेपर) प्रस्तुत गरेको छ।
परराष्ट्रमन्त्रीसँग भएको भेटमा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक र उद्यमीहरूको ज्ञान, सीप, प्रविधि तथा अनुभवलाई नेपालको विकास र राष्ट्रिय प्राथमिकतासँग जोड्ने उद्देश्यबारे जानकारी गराए । सम्मेलनलाई छलफलमा मात्र सीमित नराखी सरकार, शैक्षिक तथा अनुसन्धान संस्था, निजी क्षेत्र तथा विश्वभरका नेपाली विज्ञबीच परिणाममुखी सहकार्यको साझा मञ्च बनाउने लक्ष्य रहेको उनले बताए।
परराष्ट्रमन्त्रीले सन् २०१८ मा सम्पन्न पहिलो विश्व नेपाली ज्ञान सम्मेलनको स्मरण गर्दै यस्ता सम्मेलनले नेपाल र विश्वभर रहेका नेपाली विज्ञबीच ज्ञान आदानप्रदान तथा सहकार्य विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सफल बनाउन नेपाल सरकार आवश्यक सहकार्य गर्न सकारात्मक रहेको बताउँदै विदेशमा रहेका नेपालीको ज्ञान र अनुभवलाई नेपालको विकासमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन, एनआरएन ऐनलाई शीघ्र अन्तिम रूप दिन तथा जग्गा, लगानी, बैंकिङ, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका सुविधालाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। जवाफमा परराष्ट्रमन्त्रीले सम्पत्ति, लगानी र भिसासम्बन्धी केही कानुनी व्यवस्थामा आवश्यक संशोधनको तयारी भइरहेको जानकारी दिएका छन् ।
प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराईसँग पनि भेट गरी विश्व ज्ञान सम्मेलन–२०२७ को तयारी, गैरआवासीय नेपाली ऐन, सरकार–एनआरएनए समन्वय तथा नेपाली डायस्पोराको ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्ने विषयमा छलफल गरेको थियो। साथै, युरोप तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारीबारे पनि जानकारी आदानप्रदान गरिएको थियो।
यसैबीच प्रतिनिधिमण्डलले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग पनि भेट गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेको थियो। भेटमा नेपालमा नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा सम्मेलनले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गर्दै सहकार्यको प्रस्ताव गरिएको थियो।
मन्त्री पुनले विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान र अनुभवलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याए। उनले ब्रेन गेन सेन्टर पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै उक्त अभियान सफल बनाउन विश्वभर रहेका नेपाली विज्ञहरूको सक्रिय सहभागिता अपरिहार्य रहने बताए ।
एनआरएनएका अनुसार चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ आगामी जनवरीमा आयोजना गर्ने तयारी गरिएको छ। सम्मेलनमार्फत विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुसन्धान, नवप्रवर्तन, प्रविधि र अनुभवलाई नेपालको सुशासन, आर्थिक रूपान्तरण तथा दिगो विकासका राष्ट्रिय प्राथमिकतासँग जोड्दै नेपाल सरकार, शैक्षिक तथा अनुसन्धान संस्था, निजी क्षेत्र र नेपाली डायस्पोराबीच दीर्घकालीन सहकार्यको आधार निर्माण गर्ने लक्ष्य राखिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi