काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ जारी गर्नको लागि आवेदन दिएको किस्ट मेडिकल कलेजले एक वर्षमा करिब साढे एक अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेको छ। यस कम्पनीले सन् २०२५ सम्ममा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो ।
यसैगरी, कम्पनीले सन् २०२१ मा ५१ करोड ७० लाख, सन् २०२२ मा ६८ करोड ८० लाख, २०२३ मा ८३ करोड ४० लाख, सन् २०२४ मा १ अर्ब ३ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो । कम्पनी व्यवसाय वर्षेनी बढ्दो अवस्थामा रहेको छ।
यसैगरी, किस्ट मेडिकल कलेज प्रालिको दीर्घकालीन तथा अल्पकालीन कर्जा सुविधाको रेटिङ पुनः पुष्टि गरिएको छ। सन् २०२६ जुलाई १५ मा सार्वजनिक रेटिङ प्रतिवेदनअनुसार कम्पनीको दीर्घकालीन कर्जा सुविधालाई ‘इक्राएनपी एलबी प्लस तथा अल्पकालीन कर्जा सुविधालाई इक्राएनपी ए–४ रेटिङसहित पुनः पुष्टि गरिएको छ।
प्रतिवेदनअनुसार कम्पनीको दीर्घकालीन कर्जा सीमा अघिल्लो पटक एक अर्ब १९ करोड ७१ लाख रुपैयाँ बराबर रहेकोमा हाल एक अर्ब १५ करोड ३७ लाख रुपैयाँ बराबर रेटिङ गरिएको छ।
त्यसैगरी प्रस्तावित सीमासहितको अल्पकालीन कर्जा सीमा ३० करोड २९ लाख रुपैयाँबाट बढेर ३४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। कुल रेटिङ गरिएको कर्जा सीमा भने एक अर्ब ५० करोड रुपैयाँ नै कायम रहेको छ।
सन् २००६ मा स्थापना भएको किस्ट मेडिकल कलेज प्रालिले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस, बीडीएस, स्नातकोत्तर तथा बीएससी–एमएलटी लगायतका चिकित्सा तथा पारामेडिकल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
मेडिकल शिक्षासँगै स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले कम्पनीले ललितपुरमा ३०० शय्याको स्वीकृत क्षमता भएको शिक्षण अस्पताल समेत सञ्चालन गरिरहेको छ। कम्पनीका अध्यक्ष तथा मुख्य प्रवर्द्धक (सबैभन्दा ठूलो लगानीकर्ता) आशिष थापा हुन्। यस कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि सेबोनमा आवेदन दिएको छ।
प्रतिक्रिया दिनुहोस्