काठमाडौं । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरूबीच बोर्डमा भेट भएको छ ।
भेटमा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्टले सरकारले बजेट वक्तव्यमा गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय गरे बमोजिम बोर्डको आव २०८३/८४ मा पूँजी बजार नीतिमा समेत कार्यक्रम समावेश गरी आवश्यक कार्य अगाडि बढाउने बताए ।
उनले गैर आवासीय नेपालीहरूले समुन्नत मुलुकहरूबाट सिकेको सीप, ज्ञान र पूँजी नेपालको पूर्वाधार विकासमा जोडने गरी व्यवस्था गर्न बोर्ड आवश्यक सहजीकरणका लागि तयार रहेको बताए ।
छलफलका क्रममा गैर आवासीय नेपालीका प्रतिनिधिहरूले बोर्डबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा गैर आवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखे ।
त्यस क्रममा संघका प्रतिनिधिहरूले सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले सार्वजनिक निष्काशन मार्फत गैर आवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण सेयर जारी गरी रकम संकलन गर्ने जानकारी गराए ।
उक्त रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको जानकारि गराए ।
उक्त कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋणपत्र (बण्ड तथा डिबेन्चर) मार्फत रकम संकलन गरी लगानी गर्ने योजना समेत रहेको बताउँदै आवश्यक कानूनी सुधारका लागि सहजीकरण गरिदिन बोर्ड समक्ष अनुरोध गरे ।







प्रतिक्रिया दिनुहोस्