काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेका छन् । उनले कुनै पनि प्रकारका अफवाह र उक्साहटपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोधसमेत गरेका छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरेर केही दिनयता सुम्सेरीलगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइन। उनले उक्त घटनामा ज्यान गुमाएका तथा अन्य केही व्यक्ति घाइते भएको समाचारले आफूलाई अत्यन्त दुस्खित बनाएको घटनामा परी दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । विविधताबीचको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपालको मौलिक पहिचान तथा गौरव हो, त्यसको संरक्षण सबैको साझा दायित्व हो । हाम्रा पुर्खाले निर्माण गरी पुस्तौँदेखि गर्वपूर्वक जोगाउँदै आएको अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिइने छैन”, उनको विज्ञप्तिमा भनिएको छ ।
कानुनी शासन, आपसी विश्वास र निरन्तर संवादका माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुने भएकाले नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकको विश्वास पुनर्स्थापित गर्न आवश्यक सबै कदम चाल्न उनले आग्रह गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्