काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि २५ अर्ब बराबरको २ महिने निक्षेप सङ्कलन गर्ने भएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६१ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरेको छ ।
सूचनाअनुसार आज अपराह्न ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबिएसएस) मार्फत मात्र बोलकबोल गर्न सकिनेछ। निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज २०८३ असोज १४ गते भुक्तानी गरिनेछ ।
राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड र अधिकतम ५ करोडका गुणाङ्कमा कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकताका आधारमा स्वीकृत गरिने र समान ब्याजदर भएका प्रस्तावको कुल रकम आह्वान गरिएको रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने जनाएको छ । साथै, सङ्कलित निक्षेप अनिवार्य नगद मौज्दात ९सिआरआर० मा गणना गर्न नपाइने तर प्रचलित व्यवस्थाअनुसार एसएलआर तथा तरलता अनुपातमा गणना गर्न पाइने उल्लेख गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्