Skip to content

वाणिज्य बैंकका सीईओहरूलाई अर्थमन्त्री डा वाग्लेका ८ प्रश्न, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ?

मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ?

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई बोलाएर विभिन्न विषयमा जानकारी लिएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री वाग्लेले बैंकरहरुलाई विभिन्न ८ प्रश्न सोध्दै त्यसबारे जानकारी लिएका छन् ।

मन्त्री वाग्लेले आज नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ ?

व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन् ?

ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैन ?

बैकिङ प्रणालीमा रहेको अधिक तरलता उत्पादन र लगानीमा किन रूपान्तरण हुन सकेको छैन ?

यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ, कि निजी क्षेत्रको आत्मविश्वासमा ?

बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन् ?

मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ?

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ ? भन्ने प्रश्न गरेका छन् ।

उनले यी विषयमा सीईओहरुको स्पष्ट र निष्कपट धारणा लिएको मन्त्रीको सचिवालयले जनाएको छ ।
निजी उद्योगीहरूसँगको घनिभुत संवादपछि आज सीईओहरुसँग वित्तीय प्रणालीको बारेमा छलफल गरेको मन्त्री वाग्लेले बताए ।

उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली रहेको उनको भनाइ छ ।

”वास्तवमा, वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्वपूर्ण संगम हुन् । यहाँ बचतकर्ता पनि आउँछन्, उद्यमी पनि आउँछन्, किसान पनि आउँछन्, उद्योगी पनि आउँछन्, लगानीकर्ता पनि आउँछन् र नयाँ व्यवसाय सुरु गर्न चाहने युवा पनि आउँछन्” उनले भने ”त्यसैले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा यहाँहरूले नै महसुस गर्नुहुन्छ।”

बजेटमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेका जानकारी गराए ।

”अब हाम्रो ध्यान कार्यान्वयनमा छ। त्यसैले आज म बजेट कार्यान्वयनसंगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न यहाँहरूको अनुभव र सुझाव सुन्न आएको छु” मन्त्री वाग्लेले भने ।
सबैको साझा लक्ष्य एउटै छ नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने रहेको उनको भनाइ छ ।

सरकारका तर्फबाट नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेका जानकारी गराए ।

”एउटा प्रश्न हामीले आफैँलाई सोध्नुपर्छ—के यी सुधारहरू पर्याप्त छन् ? अझ के गर्नुपर्छ ?” मन्त्री वाग्लेले प्रश्न गरे । उनले जहाँ कानुनी सुधार आवश्यक छ, त्यहाँ कानुन सुधार्ने, जहाँ प्रक्रियागत समस्या छ, त्यहाँ प्रक्रिया बदल्ने, जहाँ संस्थागत समन्वय आवश्यक छ, त्यहाँ समन्वय गर्ने, जहाँ सरकारबाट निर्णय आवश्यक छ, त्यहाँ निर्णय लिन हामी पछि नहट्ने जानकारी गराए ।

”हामी अर्थतन्त्रलाई प्रतिक्रियात्मक ढङ्गले होइन, आत्मविश्वासले भरिएको, निर्णयक्षम र भविष्यप्रति आशावादी अर्थतन्त्र बनाउन चाहन्छौँ” उनले भने ”त्यसैले आजको बैठकलाई बैंकिङ क्षेत्रसँगको आवधिक संवादका रूपमा होइन, नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाउने कार्यशालाका रूपमा अघि बढाऔँ।”

सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभएर साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको स्मरण गराए ।

”आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य हो” उनले भने ”त्यसैले आजका सुझावहरू केवल छलफलमा सीमित रहने छैनन्; तिनलाई कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धता छ।”

सबैको साझा एजेन्डा विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने भएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T