काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्र शाहलाई देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकी छिन् ।
सपथ ग्रहण तथा पदबहालीपछि मन्त्रीले उपभोक्ताले कुनै पनि अवस्थामा ग्यास अभावका कारण सास्ती भोग्न नपर्ने वातावरण बनाउन जोड दिँइन् ।
अहिले देखिएको समस्या तत्काल समाधान गर्न आवश्यक सबै कदम चाल्न निर्देशन दिइन् । उनले ग्यास आपूर्ति व्यवस्थालाई थप प्रभावकारी, नियमित र सहज बनाउन नेपाल आयल निगमले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताइन् ।
भेटमा मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतलाई शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादनमा लैजान र त्यसको प्रभावकारी बजारीकरणको प्रक्रिया अघि बढाउन समेत निर्देशन दिइन् ।
स्वदेशी प्राकृतिक स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
मन्त्री यादवले निगमभित्र आन्तरिक सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व बढाउन तथा निगमको साख र जनविश्वास अभिवृद्धि हुने गरी परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिइन् ।
मन्त्री यादवले उपभोक्तामैत्री सेवा, सुशासन र स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै निगमले त्यसअनुसार परिणाम देखिने गरी काम गर्नुपर्नेमा विशेष जोड दिइन् ।
सपथ ग्रहणसँगै कार्यभार सम्हालेका कार्यकारी निर्देशक शाहले मन्त्रालयले दिएको निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, संस्थागत सुशासन सुदृढ गर्ने तथा उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्