Skip to content

नाडा अटो शो भदौ ९ गतेदेखि आयोजना हुने, दुई सय बढी स्टल रहने

काठमाडौं । नाडा अटो शो-२०२६ भदौ ९ देखि १४ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको आयोजनामा उक्त अटो शो हुन लागेको हो ।

६ दिनसम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अठोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्ने आयोजकले जनाएको छ । नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा आयोजना गरिने भएको छ ।

यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरुलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ । नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरुलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो । यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुयाउने विश्वास आयोजकको रहेको छ ।

यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जस्मा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरु प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरु समेत रहेका छन् ।

नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतिले एक्स्पोमा नेपालमै एसेम्बल भएका यात्रीदेखि विभिन्न ब्रान्डका सवारेसाधनहरुको प्रदर्शन गरिने जानकारी दिए ।

उनका अनुसार यस पटकको प्रदर्शनीमा नेपालमा उत्पादन भएका ‘यात्री’ तथा नेपालमै एसेम्बल भएका विभिन्न स्कुटर, बाइक, नेपालमै उत्पादन भएका टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्ट्स, हेलमेट सँगसँगै विभिन्न अटो कम्पोनेन्टहरू सहभागी हुँदैछन् ।

‘यसले नेपालको अटोमोबाइल क्षेत्र अब नेपाल केवल आयातमा मात्र नभई यसको विस्तारै हामी आत्मनिर्भरतातर्फ बढ्दै गएको र स्वदेशी उद्योगतर्फ ठोस रूपमा अघि बढिरहेको भन्ने स्पष्ट सन्देश दिन चाहन्छौँ। र यसै कारणले गर्दा नेपाल अब इम्पोर्ट मात्र नभई भोलिको दिनमा नेपालमै अटोमोबाइल उत्पादन पनि सम्भव छ भन्ने यहाँहरूलाई जानकारी गराउन र देखाउन हामी यसलाई खोजिरहेका छौँ’, उनले भने ।

यस वर्षको नाडा अटो शो नेपाल अटोमोबाइल क्षेत्रमा हुन गइरहेको द्रुत परिवर्तन, विशेषगरी विद्युतीय सवारी साधन प्रतिको आकर्षण, प्रविधि र दिगो गतिशीलता र विश्वस्तरीय नवीनतम् उत्पादनहरूलाई एकै थलोमा प्रदर्शन गर्ने एउटा भव्य मञ्च हुने उनको दाबी छ। यस मेलाले शिथिल बनेको बजारलाई चलायमान बनाउन, उपभोक्ताहरूमा उत्साह जगाउन र देशको अर्थतन्त्रलाई गति दिन महत्वपूर्ण योगदान पुर्याउने उनले जानकारी दिए ।

नाडा अटो शोको शिर्ष प्रायोजकमा एच. पि. लुब्रिकेन्ट्स रहेको छ । ६ दिनसम्म चल्ने उक्त नाडा अटो शोमा लगभग २ लाख आगन्तुकहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T