Skip to content

हिमालयन रि दीर्घकालमा सहज सञ्चालन गर्न नेपाल रिसँग मर्ज गर्न माग, कति होला सम्भव ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी शाख कायमै राखेर दीर्घकालीन सन्चालनका लागि नेपाल रि इन्स्योरेन्ससँग मर्ज गर्नु पर्ने माग हुन थालेको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालन तथा संस्थागत सुशासन अहिले निकै कमजोर भएको छ । कम्पनीहरुका उच्च व्यवस्थापन, सन्चालकहरु बीमा कसुरमा जोडिएपछि सञ्चालन तथा संस्थागत सुशासनमा प्रश्न उठेको छ । अहिलेको अवस्थामा कम्पनी दीर्घकालमा कसरी सन्चालन हुन्छ भन्ने प्रश्न उब्जिरहेको छ ।

संस्थालांई बन्द हुन नदिनका लागि आगामी दिनमा कसरी हिमालयन रिलाई नेपाल रिसँग मर्ज गरेर जाने भन्ने अहिले चासोको विषय बनेको छ ।

हिमालयन रि निजी क्षेत्रको कम्पनी हो । नेपाल रि सरकारी स्वामित्वको कम्पनी हो । नेपाल रिमा बहु्मत सेयर सरकारी निकायको छ । यता हिमालयन रिमा पनि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकको सेयर छ ।

यी दुवै बैंकमा सरकारको पनि लगानी रहेको छ । कतिपय सेयरधनीहरुले सरकारको स्वामित्व सहितको कम्पनी भएका कारण पनि नेपाल रिमा मर्ज गरेर जान आवश्यक ठानेका छन् ।

कम्पनीका बहालवाला प्रमुख कार्यकारी अधिकृत (सीईओ) देशै छोडेर भाग्नु, निवर्तमान अध्यक्ष तथा बहालवाला अध्यक्ष तथा र सन्चालक पक्राउ परेर बीमा ऐनअन्तर्गत दायर भएको मुद्दाका कारण निलम्बनमा पर्नुले अब कम्पनी सहज रुपमा सन्चालन गर्न कठिन पर्ने केही सेयरधनीहरुको दाबी छ ।

एक ठूला सेयरधनीले नाम उल्लेख नगर्ने शर्तमा सरकारले उचित मूल्यमा हिमालयन रिलाई नेपाल रिमा मर्ज गर्न आवश्यक ठानेको बताए । अहिलेको अवस्थामा कम्पनी सन्चालन सहज नभएका कारण मर्जनमा जानुको विकल्प नभएको उनको तर्क छ । यसले कम्पनीलाई दीर्घकालमा सन्चालन हुन पनि सहयोग हुने ति सेयरधनीको भनाई छ ।

बीमा ऐन, २०७९ को दफा १४२ अनुसार मुद्दा टुंगो नलागेसम्म सम्बन्धित कम्पनीका बहालवाला अधिकारी, सञ्चालक तथा कर्मचारी स्वतः निलम्बनमा परेका छन् ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालक शाहिल अग्रवाल र रोहित गुप्तासहित लगानी समिति तथा कम्पनीसँग सम्बन्धित अन्य अधिकारीहरू मुद्दामा प्रतिवादी बनेका छन् । उनीहरू निलम्बनमा परेका छन्।

कम्पनीमा हाल उदयकुमार निरौला अध्यक्षका रूपमा रहेका छन् भने सन्चालकमा दिपेन्द्र कुमार मिश्र र आशिष चन्द्र न्यौपाने मात्रै रहेका छन् ।

कम्पनी लामो समयदेखि सीईओ बिहिन बनेको छ । हाल सन्तोष केसीलाई मौखीक रुपमा कामू दिइएको छ । नेतृत्व नहुँदा अहिले कम्पनी बिना मियोको दाँई जस्तै भएको छ । त्यही भएर पनि कम्पनी नेपाल रिमा मर्ज हुनुपर्ने सेयरधनीको माग छ ।

दुई कम्पनीबीच मर्जर भएमा नेपालमा पुनर्बीमा व्यवसाय गर्ने एउटा ठूलो पुनर्बीमा कम्पनी बन्नेछ । पुँजी, जोखिम वहन क्षमता, प्रशासनिक खर्चका हिसाबले फाइदा पुग्न सेयरधनीहरुको तर्क छ ।

हाल हिमालयन रिलाई बीमा प्राधिकरणले वित्तीय रुपमा कम्पनी ठिकै रहेको दाबी गर्दै मर्जको आवश्यकता ठानेको छैन । कम्पनी वित्तीय रुपमा चल्न नस्कने अवस्थामा नपुगेको भन्दै अहिले मर्जरलाई आवश्यक नरहेको जनाएको छ । मर्जमा जान पनि विभिन्न प्रकृया पुरा गर्नुपर्छ ।

प्राधिकरणका अनुसार अहिले कम्पनीलाई बोर्डमा नयाँ नियुक्त गर्न सुझाव दीएको छ । साथै सुशासन निर्देशिका अनुसार निमित्त तोकेर काम गर्न दिइएको छ ।
प्राधिकरणले असारसम्म व्यवसाय गर्न लगाएको रोक पनि फूकुवा भएको छ । बैंकको पुँजी र जगेडाबाट ९ अर्ब प्राधिकरणमा रोक्का रहेको छ ।
अब कम्पनीले गुमेको शाख उठाउन सक्यो भने पुँजीका कारण कम्पनी सन्चालन हुन अवरोध नहुने प्राधिकरणको दाबी छ ।

हाल हिमालयन रिइन्स्योरेन्सको ठूला सेयरधनीमा २७ व्यक्ति तथा कम्पनी रहेको छ । कम्पनीमा सरकारी स्वामित्व भएका कम्पनीको समेत लगानी रहेको छ । हिमालयन रिमा सबैभन्दा ठूलो सेयरधनी एम्बर प्रोभेस्टमेन्ट प्रालिको रहेको छ । कम्पनीमा ७० लाख ५६ हजार ४०० कित्ता अर्थात् करिब ६.७९ प्रतिशत सेयर छ ।

नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकको ५,५ प्रतिशत सेयर रहेको छ ।

इन्फिनिटी होल्डिङ्स प्रालिको ४.५० प्रतिशत, जगदम्बा मोटर्स ३.२०, जगदम्बा स्टिल्सको २.२० प्रतिशत, विकास दुगर तथा हंसराज हुलासचन्द एन्ड कम्पनीको २ प्रतिशत सेयर छ। यस्तै अन्य सेयरधनी पनि रहेका छन् ।

नेपाल बीमा प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा हिमालयन रिइन्स्योरेन्सले ब्रोकर नम्बर ५५ अर्थात् भृकुटी स्टक ब्रोकिङमार्फत गरेको कारोबारमा लगानीसम्बन्धी सीमा उल्लंघन भएको र लामो समयदेखि २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम ब्रोकरबाट असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनअनुसार हिमालयन रिइन्स्योरेन्सलाई विवादित सेयर कारोबारमा संलग्न संस्थामध्ये एकका रूपमा उल्लेख गरिएको छ। प्रतिवेदनमा दीपक भट्टको हिमालयन रिइन्स्योरेन्समा ४.५ प्रतिशत स्वामित्व रहेको र भट्टको पूर्ण स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्सबाट कम्पनीले सेयर खरिद गरेको विवरणसमेत उल्लेख छ ।

यही प्रकरणमा हिमालयन रिइन्स्योरेन्सबाट नेपाल पुनर्बीमा कम्पनीलगायतका कम्पनीको सेयर खरिद–बिक्री भएको र कम्पनीको टिएमएस खाता एउटै व्यक्तिबाट सञ्चालन भएकोसमेत अनुसन्धानबाट देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रकरणमा धितोपत्र बोर्डको अनुसन्धानपछि विभिन्न व्यक्ति तथा संस्थामाथि कारबाहीका लागि प्रक्रिया अघि बढेको थियो। पछि बीमा ऐनअन्तर्गत पनि मुद्दा दायर भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T