काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम तथा हासिल गरिने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्।

सम्झौतामा सरकारका प्राथमिकतासहित सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामलाई मुख्य रूपमा समेटिएको बताइएको छ। मन्त्रीहरुले चालु आर्थिक वर्षमा आफ्नो मन्त्रालयबाट सम्पादन गरिने प्रमुख काम, अपेक्षित उपलब्धि तथा त्यसको कार्यान्वयनलाई सम्झौतामार्फत प्रतिबद्धता जनाएका छन्।

कार्यसम्पादन सम्झौताले मन्त्रालयका कामलाई थप जिम्मेवार, परिणाममुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सरकारले तोकेका प्राथमिकता तथा लक्ष्यअनुसार काम भए–नभएको मूल्यांकन गर्न पनि यस्तो सम्झौता महत्वपूर्ण हुने देखिन्छ।

यसैबीच, प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि आजै कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यसचिवसँग भएको सम्झौतामार्फत सरकारका प्रशासनिक काम तथा प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारीसमेत थप स्पष्ट गरिएको छ।

सरकारले कार्यसम्पादन सम्झौतामार्फत तय भएका लक्ष्यअनुसार काम अघि बढाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिमा परिणाम हासिल गर्ने लक्ष्य लिएको छ।














प्रतिक्रिया दिनुहोस्