काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति एक वर्षमा ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तसम्म आइपुग्दा उल्लेख्य रूपमा बढेको हो।
अमेरिकी डलरमा समेत विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ। २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति २९.८ प्रतिशतले वृद्धि भई २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४३.८ प्रतिशतले बढेर ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तमा राष्ट्र बैंकसँग यस्तो सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, राष्ट्र बैठकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि ६१.४ प्रतिशतले वृद्धि भएको छ । २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । २०८३ असार मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २२.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। यसले नेपालको बाह्य क्षेत्रको अवस्था तथा विदेशी मुद्रा भण्डारमा उल्लेख्य सुधार भएको संकेत गर्छ ।
त्यस्तै, २०८३ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ६३.८ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।






प्रतिक्रिया दिनुहोस्