काठमाडौं । रसुवा जिल्लाको भोटेकोशीमा अचानक आएको बिनाशकारी भीषण बाढीका कारण बीमा कम्पनीमा १० अर्ब भन्दा बढी दाबी पर्ने प्रारम्भिक आंकलन गरिएको छ ।
यो आंकलन प्रारम्भिक मात्रै हो । अहिलेसम्म कहाँ कति क्षति भयो भन्ने यकिन तथ्यांक आइसकेको छैन ।
निर्जीबन बीमा कम्पनीहरुका अनुसार १० अर्ब रुपैयाँमध्ये करिब ६ अर्ब रुपैयाँ जलविद्युत आयोजनाको दाबी पर्ने आँकलन छ । यो समाचार तयार पार्दासम्म उक्त भीषण बाढीले रसुवा र नुवाकोटमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा निकै क्षति पुगेको छ ।
बाढीका कारण सन्चालनमा रहेको ३५९ मेगावाट र निर्माणाधीन करिब ३९४ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति भएको छ । उक्त बाढीका कारण सडक आयोजनामा पनि निकै क्षति भएको छ ।
यस्तै प्रारम्भिक अध्ययन अनुसार विभिन्न ९ वटा बैंकका शाखामा क्षति भएको छ । बाढीका कारण विभिन्न प्रभावित ५ जिल्लाका बजार क्षेत्रमा धेरै क्षति भएको छ । यी क्षेत्रका अफिस लगायतका क्षेत्रमा बीमा भएको हुन सक्ने आंकलन गरिएको छ ।
यी क्षेत्रका घर तथा व्यवसायको पनि बीमा गरिएको कम्पनीहरुको दाबी छ । यस्तै त्रिशुली नदि आसपासमा रहेको रिसोर्ट, विभिन्न फार्महरुको पनि बीमा गरिएको पाइएको छ । यसले गर्दा दाबी रकम बढ्ने आँकलन रहेको छ । कतिपय व्यवसायीले गरेको चलाखीका कारण बीमा गरेपनि क्षति भने बढेको छ । अन्डर इन्भोइसिंङका कारण १ करोडको बीमा गरेकाले ४५ लाख बढी क्षति व्यहोर्नु परेको गुनासो समेत आउन थालेको छ ।
यता, बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन जिल्लाका ४० भन्दा बढी पुलमा क्षति पुगेको छ । जसमा ३२ पुल पूर्ण रूपमा क्षति भएका छन् । यसले अर्बौ क्षति पु्गेको छ ।बाढीका कारण नुवाकोटमा १५ वटा पुल,रसुवा जिल्लामा १३ वटा, धादिङमा ४ वटा पूर्ण र ३ वटा आंशिक रूपमा क्षति भएको छ ।
यस्तै चितवनमा ४ वटा पुलमा क्षति भएको छ । बाढीका कारण रसुवा भन्सारमा रहेका करिब ३ सय भन्दा बढी कन्टेनरमा क्षति भएको छ । रसुवा नाकामा रहेको बजार समेत पूर्ण रुपमा क्षति भएको छ । पु्ल लगायतको बीमा नभएका कारण दाबी भने केही कम भएको छ । तर, यसले राज्यलाई भार बने थपेको छ ।






प्रतिक्रिया दिनुहोस्