Skip to content

हिमनदी पतनले निम्त्याएको विपत्ति: बरफ, चट्टान, माटो र पानीको तीव्र बहावले तल्लो क्षेत्रमा ठूलो क्षति -प्रारम्भिक अध्ययन

काठमाडौं । नेपाल–तिब्बत सीमाक्षेत्रमा कम्तीमा १८० जनाको ज्यान जाने गरी भएको विनाशकारी बाढी र भग्नावशेषको प्रवाह सामान्य बाढी वा भूकम्पका कारण नभई उच्च हिमाली क्षेत्रमा विशाल हिमनदीको ठूलो हिस्सा खसेपछि उत्पन्न भएको हुन सक्ने विज्ञहरूले बताएका छन् । प्रारम्भिक अध्ययनअनुसार बरफ, चट्टान, माटो र पानीको तीव्र बहावले तल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको हो ।

न्युजिल्यान्डको जीएनएस साइन्सका प्रमुख वैज्ञानिक साइमन कोक्सका अनुसार करिब पाँच हजार २०० मिटर उचाइबाट हिमनदीको ठूलो भाग उपत्यकातर्फ खसेको देखिन्छ । खस्ने क्रममा बरफ चट्टान र माटो तथा गेग्रानसँग मिसिएर विशाल भग्नावशेषमा परिणत भएको तथा त्यसले रुख, माटो र अन्य वस्तुसमेत बगाउँदै तीव्र गतिमा तलतिर यात्रा गरेको उनले बताए शक्तिशाली प्रवाहले सुरुमा सीमाक्षेत्रको चौकीलाई असर गरेको थियो भने त्यसपछि नेपालको तल्लो क्षेत्रमा पुगेर गाउँ, पुल तथा भवनमा ठूलो क्षति पुर्‍याएको थियो ।

घटना यति शक्तिशाली थियो कि भूकम्प मापन गर्ने उपकरणमा समेत कम्पन दर्ता भयो । स्थानीय समयअनुसार बिहान ८:३७ बजे भएको घटनालाई सुरुमा ५.२ म्याग्निच्युडको भूकम्पीय घटनाका रूपमा रेकर्ड गरिएको थियो । तर थप विश्लेषणपछि अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले भूकम्प नभएको र कम्पन हिमनदी पतन तथा त्यसबाट उत्पन्न भग्नावशेषको प्रवाहका कारण भएको निष्कर्ष निकालेको छ । हिमनदीको कति भाग खसेको हो भन्ने यकिन नभए पनि कोक्सले यसको मात्रा पाँच लाखदेखि १० लाख घनमिटरसम्म हुन सक्ने अनुमान गरे ।

दुर्गम क्षेत्रमा घटना भएकाले विज्ञहरूले उपग्रह तस्बिर र जमिनमा रहेका मापन केन्द्रका तथ्याङ्कबाट घटनाको पुनर्निर्माण गरिरहेका छन् । भिक्टोरिया युनिभर्सिटी अफ वेलिङ्टनकी हिमनदीविद् लरेन भार्गोका अनुसार घटनाअघिका र घटनापछिका तस्बिर तुलना गरी पहाडबाट कति बरफ वा अन्य पदार्थ हराएको छ भन्ने पत्ता लगाउन सकिन्छ ।

नेपाली अधिकारीहरूका अनुसार भूकम्पीय कम्पनपछि नजिकैको पानी मापन केन्द्रले सूचना प्रसारण गर्न छाडेको थियो र तल्लो क्षेत्रका अन्य केन्द्र पनि क्रमशः अफलाइन भएका थिए । यद्यपि कालिखोलास्थित केन्द्रमा दिउँसो २:१४ बजे पानीको सतह १२.३ मिटर पुगेको अभिलेख छ ।

घटनापछि हिमनदी ताल फुटेर आएको बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) को सम्भावना पनि औँल्याइएको थियो । जलवायु परिवर्तनका कारण हिमनदी पग्लने क्रम बढेसँगै यस्ता तालको जोखिम बढिरहेको विज्ञहरूको भनाइ छ । सनसाइन कोस्ट विश्वविद्यालयका हिमनदीविद् एड्रियन म्याकलमले हिमनदीभित्र वा त्यसको मुनि जम्मा भएको पानी एकैपटक बाहिर निस्कँदा ठूलो बहाव सिर्जना भएको हुन सक्ने बताए ।

केही विज्ञहरूले घटनास्थलनजिकै स्पष्ट हिमनदी ताल नदेखिएको बताएका छन् । उनीहरूका अनुसार हिमनदीमुनि जम्मा भएको पानी बरफ खसेसँगै बाहिर आएको वा खसिरहेको हिमनदीले केही समय नदी थुनेर अस्थायी बाँध बनाएपछि बाँध भत्किँदा पानी एकैपटक बगेको हुन सक्छ । गर्मी याममा हिमनदी पग्लने क्रम र मनसुनको वर्षाका कारण नदीमा पानीको मात्रा पहिल्यै उच्च रहेकाले भग्नावशेषसँगै बगेको पानीले बाढीको शक्ति थप बढाएको कोक्सले बताए ।

नेपाली अधिकारीहरूले बिहान करिब ९ बजे बाढीको जानकारी पाएपछि भोटेकोसी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन सूचना दिएका थिए । तर कति मानिससम्म सूचना पुगेको थियो र सुरक्षित स्थानमा पुग्न पर्याप्त समय मिल्यो कि मिलेन भन्ने स्पष्ट हुन बाँकी छ ।

म्याकलमका अनुसार ठूलो हिमनदी वा सम्भावित हिमनदी तालमुनि बसोबास गर्ने समुदायका लागि यस्ता घटना गम्भीर जोखिम हुन् । टेक्सास सान एन्टोनियो विश्वविद्यालयका जलविज्ञानी हातिम सरिफले तीव्र गतिमा आउने माटो र पानीको मिश्रण अत्यन्त घातक हुने भएकाले पैदल वा सवारीसाधनबाट भाग्नु प्रभावकारी नहुन सक्ने बताए । उनका अनुसार यस्तो अवस्थामा अग्लो स्थानमा पुग्नु जीवन जोगाउने प्रमुख उपाय हुन सक्छ ।

कुनै एउटा हिमनदी पतनलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनकै परिणाम भन्न कठिन भए पनि बढ्दो तापक्रमले हिमनदीमा दीर्घकालीन दबाब सिर्जना गरिरहेको विज्ञहरूको भनाइ छ । विश्वभर हिमनदीहरू पग्लिँदै र सुक्दै गएपछि हिमनदी ताल तथा अन्य प्राकृतिक जोखिम बढ्नुका साथै तल्लो क्षेत्रका समुदायका लागि दीर्घकालीन जलस्रोतको चुनौतीसमेत थपिँदै गएको छ । भार्गोका अनुसार यस्ता विपत्तिको जोखिम घटाउने प्रभावकारी दीर्घकालीन उपाय हरितगृह ग्यास उत्सर्जन घटाएर विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्नु हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T