काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स प्राइभेट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा करिब ९ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको चैत मसान्तसम्म ८ अर्ब ८९ करोड रुपैयाँ बराबरको ब्यापार गरेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ब्यापारमा करिब २१ प्रतिशतको गिरावट छ । अघिल्लो आर्थिक वर्ष (सन् २०२५) मा कम्पनीले १५ अर्ब २ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यसैगरी, सन् २०२४ मा ६ अर्ब ९९ करोड ८० लाख र सन् २०२३ मा २ अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२५ मे मा नेटा र २०२६ जनवरीमा केवाईसी ब्रान्डका सवारी साधनको बिक्री बन्द भएकाे छ । उक्त ब्रान्ड बन्द भएपछि कम्पनीकाे व्यापारमा कमी आएको हाे ।
कम्पनीको आम्दानीमा आएको गिरावटसँगै नाफाको मार्जिन (ओबिड्टा-ओआई)मा समेत कमि आएको छ । सन् २०२४ मा १५.१ प्रतिशत रहेको ओबिड्टा-ओआई गत आर्थिक वर्षको ९ महिनामा घटेर ६.८ प्रतिशतमा झरेको छ । सन् २०२५ मा कम्पनीको ओबिड्टा-ओआई ७.६ प्रतिशत रहेको थियो ।
पछिल्लो समय बजारमा प्रतिस्पर्धात्मक बिक्री तथा वितरण खर्च बढ्दा यस कम्पनीको व्यवसाय तथा नाफा मार्जिनमा पनि असर गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीकाे तुलनात्मक रूपमा कम मार्जिन हुने दुईपाङ्ग्रे सवारीको हिस्सा बढ्दा पनि मार्जिनमा दबाब परेको हो ।
सिजी मोटर्सको आम्दानीमा दुईपाङ्ग्रे सवारीको योगदान पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ । सन् २०२५ मा कुल आम्दानीको करिब ३२ प्रतिशत हिस्सा रहेकाे दुईपाङ्ग्रे सवारी गत आर्थिक वर्षको ९ महिनासम्ममा बढेर ५७ प्रतिशत पुगेको छ ।
कम्पनीले यस अवधिमा आफ्नो ऋणको भार भने घटाएको छ । सन् २०२४ को अन्त्यमा कुल ऋण र मूर्त नेटवर्थको अनुपात ७.२ गुणा रहेकोमा आर्थिक सन् २०२५ मा ४.७ गुणा र गत आर्थिक वर्षको ९ महिनामा २.४ गुणामा झरेको छ ।
यद्यपि कम्पनीको कार्यशील पुँजी व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको इक्रा नेपालले जनाएको छ । पछिल्लो समय कम्पनीको नेट वर्किङ क्यापिटल तथा सञ्चालन आम्दानीको अनुपात करिब ४५ प्रतिशतदेखि ४६ प्रतिशतको हाराहारीमा रहेको छ । उच्च मौज्दात र ग्राहकबाट रकम उठाउन लाग्ने समय लामो हुँदा कम्पनीको तरलतामा दबाब देखिएको हो ।
कम्पनीको ऋण तिर्ने क्षमतामा समेत केही कमी आएको छ । सन् २०२४ मा ३.० गुणा रहेको ऋण सेवा कभरेज अनुपात सन् २०२५ मा १.९ गुणामा झरेको थियो भने गत आर्थिक वर्षको ९ महिनामा पनि १.९ गुणामै सीमित रहेको छ । यसैगरी, ब्याज भुक्तानी क्षमता अनुपात सन् २०२४ को ४.८ गुणाबाट घटेर सन् २०२५ मा २.६ गुणा र गत आर्थिक वर्षको ९ महिनामा २.३ गुणामा सीमित भएको छ ।
सिजी मोटर्सले सन् २००९ सेप्टेम्बरमा स्थापना भई सन् २०२२ जुलाईदेखि अटोमोबाइल डिलरका रूपमा कारोबार सुरु गरेको हो । कम्पनीले हाल किङ लङ, सीएचटीसी तथा हिरोका दुईपाङ्ग्रे सवारीसहित विभिन्न कमर्सियल तथा प्यासेन्जर सवारीसाधनको आधिकारिक वितरण गर्दै आएको छ । कम्पनीसँग १० वटा आफ्नै सोरुम छ । यसैगरी, २१ वटा सर्भिस सेन्टर छन् । कम्पनीले ७५ वटा डिलरको बिक्री तथा सेवा सञ्जाल गरिरहेकाे छ ।
कम्पनीले अल्पकालीन ऋण सुविधातर्फ ६ अर्ब ४० करोड रुपैयाँका लागि रेटिङ गराएकाे छ । कम्पनीकाे कर्जालाई रेटिङ एजेन्सीले ‘इक्रा एनपी ए४’ रेटिङ दिएकाे छ ।






प्रतिक्रिया दिनुहोस्