काठमाडाैं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स ९एसएनसीसी० को सहकार्यमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ ।
सेप्टेम्बर १६ मा स्वीट्जरल्यान्डको ज्युरिखमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यात तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालको क्षमता र दक्षता प्रस्तुत गरिएको थियो ।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र सहकार्य विस्तार गर्नुपर्ने बताए । नेपाली आईटी कम्पनीहरूको सेवा र प्रविधि समाधानलाई विश्व बजारसम्म पुर्याउने उद्देश्यले रोडशो आयोजना गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा स्विस नेपाल चेम्बर अफ कमर्सले नेपाल–स्वीट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्ध र नेपाली आईटी कम्पनी तथा स्वीस व्यवसायबीच सहकार्यका सम्भावनाबारे जानकारी दिएको थियो ।
रोडशोमा नेपालका १८ वटा आईटी कम्पनीले एक–एक मिनेटको कम्पनी पिचमार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानबारे जानकारी दिएका थिए ।
एआई, साइबर सुरक्षा, प्रडक्ट डेभलपमेन्ट, आईटी सर्भिसेस, बीपीओ, कस्टम वेब तथा एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङलगायतका क्षेत्रमा नेपाली कम्पनीहरूले गरेको काम र उपलब्धिबारे पनि चर्चा गरिएको थियो ।
कार्यक्रममा सम्भावित व्यावसायिक सहकार्य, साझेदारी, लगानी तथा अन्तर्राष्ट्रिय बजार विस्तारका अवसरबारे छलफल भएको थियो ।
नास–आईटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा विश्व बजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको छ । स्वीट्जरल्यान्डमा आयोजित रोडशो पनि नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय व्यवसाय, लगानी र सहकार्यका सम्भावनासँग जोड्ने प्रयासका रूपमा आयोजना गरिएको हो ।
रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन (एसडीसी) लगायतका साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको थियो भने स्विस नेपाल चेम्बर अफ कमर्स सह–आयोजकका रूपमा रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्