काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण र समन्वय गर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
बाढीका कारण विभिन्न क्षेत्रमा आयातित सवारीसाधन, गोदाम, कार्यालय, उपकरणलगायत व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै नाडाले सरकारी तथा सरोकारवाला निकायसँग समन्वय अघि बढाएको हो ।
नाडाका अनुसार बाढी तथा डुबानका कारण भन्सार नाकालगायतका स्थानमा रहेका सवारीसाधन क्षतिग्रस्त हुनुका साथै कतिपय सवारीसाधन हराएका छन्। व्यवसायीका पूर्वाधार तथा अन्य सम्पत्तिमा समेत क्षति पुगेको विवरण प्राप्त भइरहेको छ ।
नाडाले प्रभावित सदस्य कम्पनीलाई क्षतिग्रस्त तथा हराएका सवारीसाधन, सवारीसाधनको स्थान र भन्सार नाका, सवारीको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा विवरण तथा ऋणसम्बन्धी विवरण नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ ।
प्राप्त विवरणका आधारमा बीमा दाबी प्रक्रिया सहज बनाउन बीमा कम्पनीसँग तथा हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि भन्सार कार्यालयसँग समन्वय गर्ने नाडाले जनाएको छ ।
त्यसैगरी प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकनलगायत सम्भावित सहजीकरणका लागि सम्बन्धित निकायसँग पहल गर्ने नाडाको योजना छ ।
अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सरोकारवाला निकायसमक्ष प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ। यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत गरिएको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बाढी तथा डुबानबाट प्रभावित सदस्य व्यवसायीलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्