काठमाडौं । सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको विषयमा छानबिन गरी कारबाही गर्न माग गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हालै सार्वजनिक भएको एउटा अडियो टेपबारे सदनलाई जानकारी गराउँदै सम्बन्धित भन्सार अधिकृतमाथि कारबाहीको माग गरेकी हुन् ।
उनका अनुसार कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई भन्सारको गाडी नियन्त्रणमा लिएको विषयमा अत्यन्तै तल्लोस्तरको तथा धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । ती कर्मचारीले आफ्नै विभागीय महानिर्देशक, सशस्त्र प्रहरी महानिरीक्षक तथा गृहमन्त्रीलाई समेत ‘स्वाट्टै हान्छु’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको उनले बताइन् ।
‘स्वाट्टै हान्छु भनेको के हो ? फोन हान्छु भनेको हो कि ? व्यक्तिलाई भेटेर हान्छु भनेको हो कि ? अथवा तिम्रो पद खान्छु भनेको हो ?’ सांसद संग्रौलाले प्रश्न गरिन् ।
उनले एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई समेत ‘हान्ने’ क्षमता राख्छ भने राज्यका निकायको अवस्था र अधिकारको सीमाबारे गम्भीर प्रश्न उठ्ने बताइन् ।
राजस्व चुहावट नियन्त्रण गर्ने क्रममा आफ्नो जिम्मेवारी र अधिकार क्षेत्रभित्र रहेर काम गर्ने सुरक्षा निकायका अधिकारीलाई सीमा क्षेत्रका भन्सार अधिकृतबाटै गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गरिनु गम्भीर विषय भएको उनको भनाइ थियो ।
सांसद संग्रौलाले अडियोमा सुनिएको अभिव्यक्तिको सत्यतथ्य छानबिन गरी दोषी देखिए सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।








प्रतिक्रिया दिनुहोस्