चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट एउटा गैँडा नारायणी नदीमा बगेर सुस्ता पुगेको छ ।
अन्दाजी पाँच वर्षको गैँडा सुस्ता गाउँपालिका–४ मा आज बिहान देखिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले गैँडा बगेर सुस्ता पुगेको सूचना पाएको लगत्तै गैँडाको निगरानीको काम थालिएको बताए । उनले भने, “गैँडाको रेकी भइरहेको छ । उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ ।” गैँडालाई डार्ट गरेर बेहोस बनाइ डुङ्गामा वा भारतीय बाटो हुँदै ल्याउनुपर्ने हुन्छ । सुस्ता नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) मा पर्दछ । त्यहाँ पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।
नारायणी नदीमा शनिबार र आइतबार बाढी आउँदा नदी तटिय क्षेत्रबाट गैँडा बगाएको जनाइएको छ । नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुन सक्ने अनुमान छ । यस अघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सह–सचिव डा रामचन्द्र कडेँलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ गैँडा उद्धार गरी ल्याइएको थियो ।
भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुसँगको पुरानो चिनजानका कारणले गैँडा ल्याउने काममा भारतका तर्फबाट सहजीकरण भएको उनले बताए । यस वर्षको बाढी ठूलो भएकाले भारत सम्म गैंडा पुगेको हुन सक्ने आँकलन गरिएको छ ।
यस वर्ष शनिबार र आइतबारको बाढीमा राप्ती नदीको मेघौली, खैरहनी लगाएतका क्षेत्रमा बगेका गैँडा आँफै उत्रिएको निकुञ्जले जनाएको छ । एउटा मृगलाई भरतपुर महानगरपालिका–१७ शिसुवारबाट उद्धार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्