काठमाडौं । सिंगापुरमा विद्युतीय सवारीसाधनको बिक्री सन् २०२६ मा ३४.३ प्रतिशतले बढेर ३४ हजार ९४० युनिट पुग्ने अनुमान गरिएको छ । यससँगै कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ५४.६ प्रतिशत पुग्ने अनुसन्धान संस्थाले जनाएको छ ।
सरकारी कर छुट तथा प्रोत्साहन, चिनियाँ मुख्यभूमिमा उत्पादित किफायती विद्युतीय सवारीका नयाँ मोडलहरूको बढ्दो उपलब्धता र चार्जिङ पूर्वाधारको विस्तारले बिक्री वृद्धिमा सहयोग पुर्याउने जनाइएको छ ।
सन् २०२६ को जुनसम्ममा सिंगापुरमा दर्ता भएका नयाँ सवारीमध्ये ७० प्रतिशत विद्युतीय सवारी थिए । यो प्रवृत्ति सन् २०३५ सम्म जारी रहने र त्यसबेला सिंगापुरको कुल सवारीसाधनमध्ये ४४ प्रतिशत विद्युतीय सवारी हुने अनुमान गरिएको छ ।
सरकारी अनुदान तथा छुटका साथै निजी आवासमा विद्युतीय सवारी चार्जर जडानलाई सहयोग गर्ने कार्यक्रमले माग कायम राख्ने अपेक्षा गरिएको छ । सन् २०३५ सम्ममा कुल सवारी बिक्रीमा विद्युतीय सवारीको हिस्सा ८५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
सन् २०२६ को पहिलो त्रैमासिकमा नयाँ कार दर्तामध्ये विद्युतीय सवारीको हिस्सा ५७.६ प्रतिशत पुगेको थियो, जुन ७ हजार ६७९ वटा सवारी बराबर हो । पहिलो पटक सिंगापुरमा विद्युतीय सवारीको बिक्री पेट्रोल तथा डिजेलबाट चल्ने र मिश्रित प्रविधिका सवारीको बिक्रीभन्दा बढी भएको थियो ।









प्रतिक्रिया दिनुहोस्