काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताए ।
‘अहिलेको समस्या संविधान र तपाईंहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा समेत छ। यसमा पनि सोच्ने बेला आएको छ,’ उनले भने।
लिङ्देनले लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए । राजनीतिक दलहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै देश र जनताको हितमा अघि बढ्ने बाटो तय गर्नुपर्ने उनको भनाइ थियो।
उनले लोकतन्त्रलाई थप प्रभावकारी बनाउने र जनताका अपेक्षा सम्बोधन गर्ने विषयमा राजनीतिक दलहरूबीच बहस र संवाद आवश्यक रहेको बताए। लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।









प्रतिक्रिया दिनुहोस्