काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) नेपालले
आईएसपीहरूले दिँदै आएको सुपथ मूल्यमा कम स्पीडका प्याकेजहरू आज बन्द गर्ने जनाएको छ ।
पछिल्ला वर्षहरूमा मूल्यवृद्धि,मध्यपूर्वको तनावका कारण चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था तथा एआईको तीव्र वृद्धिका कारण एक्कासि महँगिएको इलेक्ट्रोनिक तथा चिपसेटको मूल्यलगायत कारणले इन्टरनेट सेवा प्रदायकहरूको सञ्चालन लागत बढेको संघले जनाएको छ ।
लागत बढेका कारण आईएसपीहरूले दिँदै आएको सुपथ मूल्यमा कम स्पीडका प्याकेजहरू आज सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएको संघले जनाएको छ ।
बढ्दो लागतका कारण हाल कायम रहेको सस्तो मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउन कठिन हुँदै गएको जनाएको छ।
संघका अध्यक्ष सुधीर पराजुलीले पछिल्लो १२ वर्षमा नेपालको इन्टरनेट पहुँच र प्रभावमा उल्लेख्य प्रगति भएको जनाए ।
फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचका आधारमा नेपाल दक्षिण एसियामै अग्रस्थानमा रहेको तथा इन्टरनेट विश्वकै सस्तोमध्ये एक रहेको उनको भनाइ छ ।
संघका अनुसार इन्टरनेट सेवा प्रदायकहरूले सुपथ र सर्वसुलभ इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएका छन् ।
कोरोना महामारीदेखि भोटेकोसीको बाढीसम्मका विभिन्न विपद्का समयमा समेत आईएसपीहरूले निरन्तर अत्यावश्यक इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको संघले जनाएको छ।
संघले सबै इन्टरनेट सेवा प्रदायकलाई अझै गुणस्तरीय सेवा दिँदै डिजिटल नेपालको सपना साकार पार्न निर्देशनसमेत दिएको छ। साथै, नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दरअनुसार आफ्ना वेबसाइटमा शुल्क स्पष्ट रूपमा देखिने गरी राख्न आईएसपीहरूलाई आग्रह गरिएको छ।
आइस्पानले ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिन समेत अनुरोध गरेको छ। यसबाट इन्टरनेट सेवाको वास्तविक शुल्क तथा करसम्बन्धी विवरण ग्राहकलाई स्पष्ट हुने संघको भनाइ छ।









प्रतिक्रिया दिनुहोस्