Skip to content

क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का पूर्व अध्यक्ष नवराज कुँवर एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को उपाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

इन्डोनेसियाको जकार्तामा हालै सम्पन्न असोसियोको ४२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७२८ कार्यकालका लागि उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

कुँवर यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै सन् २०२२ देखि असोसियोको उपाध्यक्षका रूपमा कार्यरत थिए। उनले सन् २०२२/२०२४ तथा २०२५/२०२६ कार्यकालमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

पुनः उपाध्यक्षमा निर्वाचित भएपछि कुँवरले नेपालको सूचना प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयासलाई थप ऊर्जा मिलेको बताएका छन् ।

“सूचना प्रविधि क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने प्रयास गरिरहेको छु। असोसियोमार्फत एसियाली देशहरूमा मजबुत प्रविधि प्रणाली निर्माण गर्दै नेपाललाई विश्व आईसीटी क्षेत्रमा थप स्थापित गर्न सकिन्छ,” कुँवरले भने ।

उनका अनुसार यसबाट नवप्रवर्तन, आर्थिक वृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यका नयाँ अवसर सिर्जना हुनुका साथै एसियाका विकासशील तथा अल्पविकसित देशहरूबीचको प्रविधिगत दूरी घटाउनसमेत सहयोग पुग्नेछ ।

नयाँ कार्यसमितिमा मलेसियाका अध्यक्ष स्टान सिंह–जितको नेतृत्वमा नेपालसहित मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाका प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले कुँवरको नेतृत्वमा नेपाली सूचना प्रविधि क्षेत्र र संस्थाहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह भएकाले नै पुनः सर्वसम्मत निर्वाचित हुने वातावरण बनेको बताए ।

उनले आगामी कार्यकालमा पनि कुँवरबाट उल्लेख्य योगदान पुग्ने र त्यसबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् ।

“असोसियोमा उहाँको प्रतिनिधित्वले बदलिँदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुँच विस्तार गर्न तथा सूचना तथा सञ्चार प्रविधिमार्फत समृद्ध नेपाल निर्माण गर्ने क्यान महासंघको प्रयासमा थप सहयोग पुग्ने हाम्रो विश्वास छ,” भुर्तेलले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima