Skip to content

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्दै, असोज २९ गतेदेखि आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असोज २९ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

त्यस्तै, बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरिनेछ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने निष्काशन गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

ऋणपत्रको निष्काशन छिटोमा कात्तिक १० गते बन्द हुनेछ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन ढिलोमा कात्तिक १२ गतेसम्म खुला रहनेछ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ्ग्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले बैंकले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्छ ।

यस ऋणपत्रबाट प्राप्त ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिने बैंकले जनाएको छ । ७ वर्ष अवधिको यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima