काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। महाधिवेशनमा सहभागी ७ हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार बिहान १० बजेपछि उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण सुरु भएको हो।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। उम्मेदवारी दिन चाहनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीमार्फत तोकिएको शुल्क बुझाउने व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार उल्लेख्य रूपमा बढाएको छ। यसअघि १६७ सदस्यीय रहेको केन्द्रीय कार्यसमितिलाई बढाएर २९७ सदस्यीय बनाइएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिको व्यवस्था गरिएको छ। यससँगै उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन पुर्याइएको छ भने तीनमध्ये एक जना महिला महामन्त्री अनिवार्य गरिएको छ।
त्यस्तै, दुई जना खुला सहमहामन्त्री थपिएका छन्। यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ। कांग्रेसले प्रवक्ता पद पनि थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने जनाएको छ।
यसअघि १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो भने पदाधिकारीको संख्या १४ थियो।
प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढेसँगै पार्टीको केन्द्रीय संरचनालाई पनि विस्तार गरिएको कांग्रेसले जनाएको छ। नयाँ व्यवस्थाले विभिन्न वर्ग, क्षेत्र, समुदाय र समूहको प्रतिनिधित्वलाई थप सुनिश्चित गर्ने पार्टीको दाबी छ।









प्रतिक्रिया दिनुहोस्