Skip to content

अन्नपूर्ण चक्रीय पदमार्ग खुल्यो, थोरङला पासको हिउँ पन्छाइयो

काठमाडौं । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्गमा जमेको हिउँ पन्छाएपछि पदयात्राका लागि खुलेको छ ।

मुक्तिनाथ होटल एसोसिएसनको पहलमा २० जनाको टोलीले सोमबार थोरङला पास क्षेत्रमा बाक्लो हिउँ पन्छाएपछि पदमार्ग पुनः सञ्चालनमा आएको हो ।

लमजुङको बेँसीसहर हुँदै मनाङबाट थोरङला पास पार गरेर विदेशी पर्यटक मुस्ताङको मुक्तिनाथ पुग्ने गर्छन् । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले बाक्लो हिउँ पन्छाएर मनाङ–मुस्ताङ जोड्ने थोरङला पास पदमार्गलाई पदयात्राका लागि सहज बनाइएको बताए ।

असोज ८ देखि ११ गतेसम्म भएको भारी हिमपातका कारण थोरङला पास पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि पर्यटकको आवागमनसमेत रोकिएको थियो । हिउँ पन्छाएपछि भने पदयात्रा पुनः सहज भएको एसोसिएसनले जनाएको छ ।

अक्टोबरदेखि नोभेम्बरसम्म थोरङला पास साहसिक पदयात्राका लागि उपयुक्त गन्तव्य मानिन्छ । मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण चक्रीय पदमार्गमा वर्षमा करिब पाँच महिना मात्रै पर्यटकीय गतिविधि हुने गर्छ ।

विश्वप्रसिद्ध पदमार्गका रूपमा स्थापित अन्नपूर्ण चक्रीय पदमार्गको थोरङला पास खण्डमा विदेशी पर्यटक साहसिक पदयात्राका लागि आकर्षित हुने गरेका छन् । मनाङबाट थोरङला पास हुँदै मुस्ताङ आउन अब पदयात्रीलाई कुनै समस्या नहुने मुक्तिनाथ होटल एसोसिएसनले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima