काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी तथा त्यसपछि लगातार परेको वर्षाका कारण देशका विभिन्न सडक तथा व्यापारिक नाका अवरुद्ध हुँदा अटोमोबाइल बजारको मुख्य ‘चाडपर्व कारोबार’ प्रभावित भएको छ ।
नाडा अटो शो तथा नाईमा नेपाल मोबिलिटी एक्स्पोमा ग्राहकले बुकिङ गरेका नयाँ गाडीसमेत तोकिएको समयमा डेलिभरी गर्न नसक्ने अवस्था सिर्जना भएको छ । बाढी पहिरोका कारण चीनबाट गाडी आयात हुने प्रमुख नाका बन्द हुनुका साथै भारतबाट आउने सडकसमेत अवरुद्ध हुँदा गाडीको आयात तथा ढुवानी प्रभावित भएको हो ।
विशेषगरी चीनबाट आयात हुने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति ठप्पजस्तै भएपछि अटो व्यवसायी थप दबाबमा परेका छन् । नेपालमा आयात हुने ईभीमध्ये ठूलो हिस्सा चीनबाट आउने गर्छ। चीनबाट बीवाईडी, एमजी, डोङफेङ, दीपाल–चाङ्गन, ओ मोडा एन्ड जेइको, एक्सपेङलगायत विभिन्न ब्रान्डका सवारीसाधन नेपाल भित्रिने गरेका छन् ।
चीनतर्फका प्रमुख व्यापारिक नाका अवरुद्ध हुँदा यी ब्रान्डका नयाँ गाडी नेपाल ल्याउन समस्या भएको व्यवसायीहरूको भनाइ छ । नाका बन्द हुँदा गाडी मात्र नभई स्पेयर पाटर्स तथा अन्य आवश्यक सामग्रीको आपूर्तिसमेत प्रभावित भएको छ ।
चीनका नाका त बन्द छन् नै । भारतबाट आयात हुने गाडीको अवस्था पनि सहज छैन । रसुवाको भोटेकोशी बाढी तथा कृष्ण भीरलगायतका स्थानमा गएको पहिरोका कारण भारतबाट आएका गाडी तथा अन्य सामग्री उपत्यकासम्म ल्याउन कठिनाइ भइरहेको अटो व्यवसायीहरूले बताएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्य अनुपराज बरालका अनुसार चीनबाट नेपालमा गाडी आयात हुने प्रमुख तीनवटै नाका अहिले प्रभावित छन् । उनका अनुसार रसुवा भोटेकोशी बाढीको कारण ध्वस्त बनेको रसुवागढी–केरुङ नाका तत्काल सञ्चालनमा आउने अवस्था छैन । जोमसोमको कोरला नाका पनि आन्तरिक सडक बिग्रिएका कारण सञ्चालनमा आउन सकेको छैन भने तातोपानी नाकासमेत बन्द छ ।
‘नेपालमा चीनबाट आउने गाडीका तीनवटै प्रमुख नाका प्रभावित छन् । रसुवाको केरुङ नाका अहिले सञ्चालनमा आउने अवस्था छैन । कोरला नाका पनि आन्तरिक सडक बिग्रिएका कारण सञ्चालनमा छैन । तातोपानी नाका पनि चीनले बन्द गरेको अवस्था छ।,’ बरालले भने ।
सरकारले दसैँअघि नै चीनतर्फबाट आउने कुनै एक वैकल्पिक नाका वा सडक सञ्चालनमा ल्याउन सके नाडा अटो शो र दसैँका लागि गाडी बुक गरेका ग्राहकलाई सवारीसाधन उपलब्ध गराउन सकिने उनको भनाइ छ । ‘दसैँअघि बाटो खुलाउन सकियो भने नाडा अटो शोमा गाडी अर्डर गरेका ग्राहकले गाडी पाउन सक्छन् । नत्र अटो व्यवसाय नै ठप्प हुने अवस्था आउँछ,’ उनले भने ।
अटो व्यवसाय ठप्प हुँदा व्यवसायीलाई अर्बौं रुपैयाँको क्षति हुने मात्र नभई सरकारको राजस्व संकलनमा समेत ठूलो असर पर्ने उनले बताए । ‘व्यापार बन्द हुँदा व्यापारीको अर्बौं रुपैयाँको घाटा हुन्छ । सरकारको राजस्वमा पनि गिरावट आउँछ। बजारमा ग्राहकले समयमा गाडी पाउँदैनन् । गाडीसँगै स्पेयर पाटर्स पनि नाकामै रोकिएका छन्,’ बरालले भने ।
भारतबाट आएका गाडी तथा सामानसमेत कृष्णभीरलगायतका स्थानमा सडक अवरुद्ध भएका कारण उपत्यकासम्म ल्याउन कठिनाइ भइरहेको उनले बताए । यद्यपि, चीनतर्फको समस्या तुलनात्मक रूपमा ठूलो रहेको उनको भनाइ छ । चीनबाट आयात हुने अधिकांश ब्रान्डका गाडी अहिले नाकामै रोकिएका छन् । लामो समयसम्म गाडी उपलब्ध हुन नसक्दा ग्राहकले बुकिङ रद्द गर्ने अवस्था सिर्जना हुन थालेको अटो व्यवसायीहरूको गुनासो छ ।
बरालले तत्कालको समस्याको विकल्पका रूपमा तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारले चीनसँग कूटनीतिक पहल गर्नुपर्ने बताए । ‘सरकारले चीनसँग कूटनीतिक पहल गरेर तातोपानी नाका तत्काल खोल्नुपर्छ । अहिलेको समस्या समाधानका लागि यो एउटा विकल्प हुन सक्छ,’ उनले भने।
यसैगरी, नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाईमा) का कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार चीनतर्फका अधिकांश नाका बन्द हुँदा दसैँ तथा नाईमा नेपाल मोबिलिटी एक्स्पोमा बुक गरिएका गाडी आयात गर्न सकिएको छैन ।
उनका अनुसार कोरला नाकाबाट आउने सडक करिब ११ किलोमिटर क्षेत्रमा क्षतिग्रस्त भएकाले त्यसलाई तत्काल मर्मत गर्न सके केही हदसम्म समस्या समाधान गर्न सकिन्छ ।
‘कोरला नाकाबाट आउने बाटो करिब ११ किलोमिटर जति बिग्रिएको अवस्थामा छ। यो सडक मात्र बन्यो भने पनि तत्कालको समस्या केही समाधान हुन्छ । यसका लागि नाईमाले सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको छ,’ दुलालले लगानी न्यूजसँगको कुराकानीमा भने ।
उक्त सडक सहज भए नाईमा एक्स्पोमा बुक भएका गाडीमध्ये कम्तीमा केही गाडी भए पनि ग्राहकलाई उपलब्ध गराउन सकिने उनको भनाइ छ । सरकारले नाका खुलाउन काम भइरहेको बताए पनि चाडपर्वको कारोबारलाई सहज बनाउन कामलाई तीव्र गतिमा अघि बढाउनुपर्ने दुलालले बताए ।
‘सरकारले नाका खुलाउन काम भइरहेको भनेको छ । तर, यहाँको काम ‘फास्ट ट्र्याक’मा हुन सके चाडपर्वलाई सहज हुने थियो । सरकारले उक्त बाटोमा स्रोत–साधन थपेर काम गर्नुपर्छ,’ उनले भने ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले समेत तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेको बताइएको छ । दसैँअघि नाका सञ्चालनमा आउन सके अटो बजारलाई केही राहत पुग्ने व्यवसायीहरूको अपेक्षा छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच गत शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटमा मन्त्री लम्सालले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास, रसुवागढी–केरुङ नाका पुनः सञ्चालन, करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि चीन सरकारबाट आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।
भोटेकोशीमा आएको बाढीका कारण नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएको उल्लेख गर्दै मन्त्री लम्सालले तत्कालका लागि पुरानै स्थानबाट अस्थायी सडक तथा यातायातको व्यवस्था मिलाएर स्थानीय नागरिकलाई राहत दिने गरी सरकारले काम गरिरहेको बताएका थिए ।
भेटका क्रममा चिनियाँ राजदूत वाङ माओमिङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताएका थिए । उनले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।
राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ग्राहक उत्साहित, व्यवसायी निराश
नाईमा नेपाल मोबिलिटी एक्स्पोमा ग्राहकले उत्साहजनक रूपमा गाडी बुकिङ गरेका थिए । तर, बुकिङअनुसार सवारीसाधन उपलब्ध गराउन नसक्दा अहिले अटो व्यवसायी दबाबमा परेका छन् । दुलालका अनुसार केही कम्पनीले नेपालमा पहिल्यै ल्याएर राखेको स्टकबाट गाडी बिक्री गरिरहेका भए पनि अहिले अधिकांश कम्पनीको स्टकसमेत सकिन थालेको छ ।
‘ग्राहकले निकै उत्साहका साथ नाईमा एक्स्पोमा गाडी बुक गरेका थिए । तर, त्यसअनुसार कम्पनीहरूले ग्राहकलाई गाडी दिन सक्ने अवस्था छैन । कुनै–कुनै कम्पनीले स्टकमा ल्याएका गाडी बिक्री गरिरहेका छन् । तर, अहिले स्टक पनि सकिएको छ,’ उनले भने । लामो समयसम्म आयात र ढुवानी सहज हुन नसके अटो बजार नै ठप्प हुने जोखिम रहेको उनले बताए ।
नेपालमा दसैँ–तिहारलाई अटोमोबाइल व्यवसायको प्रमुख बिक्री सिजनका रूपमा लिइन्छ । यही समयमा हुने उच्च मागलाई लक्षित गर्दै कम्पनी तथा बिक्रेताहरूले नाडा अटो शो र नाईमा नेपाल मोबिलिटी एक्स्पोमार्फत ठूलो संख्यामा बुकिङ लिएका थिए । ‘नाडा अटो शो भइरहेकै बेला रसुवाको भोटेकोशीमा बाढी आयो । जसको कारण उक्त शोका लागि ल्याएका अधिकांश गाडीहरू पनि बगे । बाँकी भएका गाडी ल्याउन पनि सहज छैन ।’ एक व्यवसायी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्