काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजी बजारलाई सेयर कारोबारमा मात्र सीमित नराखी ग्रामीण अर्थतन्त्र, उत्पादनमूलक क्षेत्र र आमनागरिकको आर्थिक जीवनसँग जोड्नुपर्ने बताएका छन् ।
मिडिया इन्टरनेसनलले काठमाडौंमा शुभारम्भ गरेको ‘सम्भावना’ कार्यक्रममा अध्यक्ष भट्टले पुँजी बजारको दायरा विस्तार गरी देशको आर्थिक विकास र उत्पादन वृद्धिसँग जोड्नुपर्नेमा जोड दिए । उनले आमनागरिकले पुँजी बजारलाई मुख्यतः सेयर किनबेचका रूपमा बुझ्ने गरेको उल्लेख गर्दै यसको वास्तविक उद्देश्य, सम्भावना र आर्थिक विकासमा पुर्याउनसक्ने योगदानबारे व्यापक जनचेतना आवश्यक रहेको बताए ।
“पुँजी बजारलाई सीमित क्षेत्रको कारोबारका रूपमा मात्र नभई देशको आर्थिक विकासका लागि आवश्यक पुँजी परिचालन गर्ने महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने हुन्छ”, उनले भने, “पुँजी बजारको पहुँच विस्तार गर्दै यसलाई देशको उत्पादन, उद्यमशीलता र ग्रामीण अर्थतन्त्रसँग जोड्नसके आर्थिक विकासका नयाँ अवसर सिर्जना गर्न सकिनेछ ।”
अध्यक्ष भट्टका अनुसार नेपालमा पुँजी बजारको चर्चा हुँदा प्रायः नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हुने सेयर कारोबार, बजार परिसूचकमा आउने उतारचढाव तथा लगानीकर्ताले कमाउने वा गुमाउने रकमलाई प्राथमिकता दिने गरिएको छ । यद्यपि, पुँजी बजारको भूमिका सेयर कारोबारमा मात्र सीमित नरहेको उनको भनाइ छ ।
पुँजी बजारले लगानी गर्न चाहने व्यक्ति तथा संस्थाबाट पुँजी आवश्यकपर्ने क्षेत्रसम्म वित्तीय स्रोत परिचालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । सेयरसँगै बन्ड तथा अन्य धितोपत्रमार्फत पुँजी जुटाउन सकिने भएकाले उद्योग, व्यवसाय तथा सरकारले आवश्यक वित्तीय स्रोत प्राप्त गर्न यसले सहयोग पुर्याउने उनको भनाइ छ ।
उनले उद्योगी-व्यवसायी तथा पुँजी आवश्यकपर्ने क्षेत्रलाई बैंकिङ प्रणालीमा मात्र निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्दै पुँजी बजारमार्फत प्रत्यक्ष रूपमा स्रोत जुटाउनसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । पुँजी बजारको प्रभावकारी विस्तारले देशभित्रका उत्पादनमूलक क्षेत्र तथा उद्यमशील गतिविधिमा लगानी बढाउन सहयोग पुग्ने र त्यसबाट आर्थिक विकासका थप अवसर सिर्जना गर्न सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्