काठमाडौं । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले सेयर बजारमा हाल कायम १५ प्रतिशतको सर्किट ब्रेकरलाई घटाएर १० प्रतिशत कायम गर्न माग गरेका छन्। उनले पुँजी बजारलाई थप व्यवस्थित बनाउन ब्रोकर कम्पनीको मर्जर, प्रविधिको विकास र नियामकीय व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन्।
अध्यक्ष ढकालले ब्रोकर कम्पनीहरूलाई मर्जरमार्फत ठूला र सबल संस्था बनाउने आफ्नो चाहना रहेको बताए। ब्रोकर कम्पनीहरूले आफ्नो पुँजीअनुसार सेवा विस्तार गर्न चाहेको उल्लेख गर्दै उनले यस विषयमा चाडपर्वपछि आवश्यक गृहकार्य गर्न सबैलाई आग्रह गरे। यसका लागि सरकारले समिति गठन गरेको र समितिलाई सोहीअनुसार सुझाव दिने पनि उनले जानकारी दिए।
ढकालले अहिले ब्रोकर कम्पनीहरूले मार्जिन कारोबारसमेत सुरु गरिसकेको बताए। पुँजी बजारमा लगानीकर्ताको सहभागिता र कारोबारलाई थप व्यवस्थित बनाउन नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ थियो।
उनले नेपाल धितोपत्र बोर्ड (सेबोन) अहिले पुँजी बजारमैत्री रहेको उल्लेख गर्दै बजार सुधारमा सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने बताए।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्दा आर्थिक स्रोतभन्दा प्रविधिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेका आधुनिक प्रविधि नेपालमा भित्र्याउन पनि नेप्सेको पुनर्संरचना आवश्यक रहेको उनको भनाइ थियो।
अध्यक्ष ढकालले २३ वर्ष पुरानो पुँजी बजारसम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाउनसमेत आग्रह गरे। समयअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न सके पुँजी बजारको विकास र विस्तारमा सहयोग पुग्ने उनले बताए।
यसैगरी, लगानीकर्ता हित संरक्षण कोषमा एक अर्ब रुपैयाँभन्दा बढी रकम रहेको उल्लेख गर्दै उनले उक्त कोष हाल कम्पनी रजिस्ट्रारको कार्यालयअन्तर्गत रहेकाले सेबोनअन्तर्गत ल्याउन सुझाव दिए। पुँजी बजारसँग सम्बन्धित विभिन्न निकायबाट अलग-अलग निर्देशन आउने गरेको भन्दै उनले नियामकीय निर्देशनलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्नुपर्नेमा पनि जोड दिए।
ढकालका अनुसार पुँजी बजारलाई आधुनिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सर्किट ब्रेकरको व्यवस्था, ब्रोकर कम्पनीको संरचना, प्रविधि, कानुनी सुधार तथा नियामकीय समन्वयमा एकसाथ ध्यान दिन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस्