Skip to content

आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । यो कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । यसमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ ।

दोलखा जिल्लाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दाले उक्त सेयरका लागि आवेदन दिन सक्नेछन् । बाँकी ६ लाख ७६ हजार कित्ता सेयर यी दुई गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिनेछ ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्काशन गरिनेछ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् । दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क लाग्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २८ वर्ष बाँकी छ ।

यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ६।०९ वर्ष र छुटदरमा आधारित लगानी फिर्ता अवधि ९.०८ वर्ष रहेको छ । कम्पनीले यस आयोजनाबाट २०८२ असोज २५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

त्यस्तै, ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि पनि २८ वर्ष बाँकी छ ।

यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ६।२९ वर्ष र छुटदरमा आधारित लगानी फिर्ता अवधि ९।५६ वर्ष रहेको छ । कम्पनीले यस आयोजनाबाट २०८२ साउन ८ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima