काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित आफ्नो वेबसाइटमार्फत नागरिक बजेट पुस्तिका सार्वजनिक गरेको हो ।
नागरिक बजेट नयाँ बजेट नभई जेठ १५ गते सार्वजनिक गरिएको चालु आर्थिक वर्षको बजेटलाई सरल र बुझ्न सजिलो भाषामा प्रस्तुत गरिएको दस्ताबेज हो । बजेटमा समेटिएका योजना, कार्यक्रम, करका व्यवस्था तथा सरकारी खर्चबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले पुस्तिका तयार पारिएको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राज्यको खर्च र बजेट विनियोजन प्रक्रियालाई पारदर्शी तथा जवाफदेही बनाउन नागरिक बजेट महत्त्वपूर्ण हुने बताएका छन् । उनका अनुसार पुस्तिकामा बजेटका प्राथमिकता, करसम्बन्धी व्यवस्था र विकासका लक्ष्यलाई आमनागरिकले बुझ्ने भाषामा प्रस्तुत गरिएको छ ।
नागरिक बजेटमा बजेट निर्माणका छवटा चरण, ती चरणमा सम्बन्धित निकायको जिम्मेवारी र समयसीमाबारे उल्लेख गरिएको छ । यसका साथै सुशासन, नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाह, आर्थिक लक्ष्य, सार्वजनिक ऋण तथा सरकारका आम्दानीका स्रोतलाई पनि समेटिएको छ ।










प्रतिक्रिया दिनुहोस्