Skip to content

३० वर्षदेखी मकै पोलेर घरखर्च जुटाउँदै शान्ति, दिनमा बिक्री गर्छिन् १८० घोगा

काठमाडौं । धरान उपमहानगरपालिका–१६ की ५९ वर्षीय शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्दै तीन दशकदेखि घरव्यवहार चलाउँदै आएकी छिन् । श्रीमान्को निधनपछि घरको आर्थिक जिम्मेवारी आफैँ सम्हाल्दै आएकी उनले यही पेसालाई जीविकोपार्जनको मुख्य आधार बनाएकी हुन् ।
श्रेष्ठको दैनिकी बिहानै मोरङको भावन्ने पुगेर हरियो मकै खरिद गर्नेदेखि सुरु हुन्छ । उनी घाम नउदाउँदै धरानबाट गाडी चढेर हरियो मकै खरिद गर्न त्यहाँ जान्छिन् । मकै लिएर धरान फर्कँदा बिहानको १० देखि ११ बजिसकेको हुन्छ । त्यसपछि धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मीचोक नजिकै सडकछेउमा मकै पोल्ने र बिक्री गर्ने उनको दैनिक सुरु हुन्छ । शान्तिले दैनिक करिब १६० देखि १८० घोगासम्म मकै पोलेर बिक्री गर्दै आएकी छिन् ।
करिब तीन दशकदेखि यही पेसा अँगालेकी श्रेष्ठका लागि मकै बिक्री गर्नु आम्दानीको माध्यम मात्र नभई जीवन चलाउने आधारसमेत बनेको छ । खुला आकाशमुनि सडकछेउमा बसेर काम गर्दा जस्तोसुकै घामपानी सहेरै पनि उहाँले आफ्नो पेसालाई निरन्तरता दिँदै आएकी छिन् ।
श्रेष्ठले भनिन् , “अरू काम गरौँ भने सकिँदैन, अर्कोतिर काम पनि पाइँदैन । मकै पोल्ने काम पनि सजिलो त छैन । कहिले पानी पर्छ, कहिले टन्टलापुर घाम लाग्छ । गाह्रो हुन्छ, तर अब त घामपानी सहन बानी परिसक्यो ।”
उनले मोरङका विभिन्न स्थानमा मकैबारी समेत ठेक्कामा लिई हरियो मकै धरान लिएर आई बिक्री गर्दै आएकी छिन् । उनले रु ६० हजारदेखि रु एक लाख ५० हजारसम्ममा मकैबारी ठेक्का दिँदै आएकी छिन् । उनले त्यस कार्यमा अरू साथीले पनि साथ दिँदैआएकी छन् । श्रेष्ठले भनिन्, “साथीहरूसँग मिलेर ठेक्कामा लिँदा अलि सस्तो हुन्छ, तर सधैँ नाफा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदा हुन्छ । व्यापारमा तलमाथि भइरहन्छ ।”
उनले मकैको साइज अनुसार प्रति घोगा १५ रुपैयाँदेखि ५० रुपैयाँसम्ममा पोलेर बिक्री गर्दै आएकी छन् । त्यस व्यवसायबाट मकै पोल्ने कोइलाको खर्च कटाएर मासिक  ७० रुपैयाँहजारदेखि ८० रुपैयाँहजारसम्म आम्दानी हुने गरेको शान्तिले जानकारी दिइन्। मकै बिक्रीबाट प्राप्त रकमबाटै सबै घरखर्च व्यवस्थापन गर्दै आएको उनको भनाइ छ ।
उनले भनिन, “काम ग¥यो भने खानका लागि अभाव हुँदैन । मकै पोलेरै घरव्यवहार चलिरहेको छ । घरमा कमाउने मान्छे छैन, कमाउने मै हुँ । छोरी विवाह गरेर आआफ्नो घर गइसके । उमेर ढल्किँदै गयो काम गर्ने बानी बस्यो काम छाडेर घरमा बस्न मन लाग्दैन, दुःख हुन्छ भन्दैमा काम छोड्न पनि भएन ।”
 मकै बेच्ने कार्यलाई निरन्तरता दिएकै कारण दैनिक घरखर्च जुटाउन अरूसँग हात थाप्न नपरेकोमा गौरव गर्दै उहाँले शरीरले साथ दिएसम्म यही पेसा गर्ने दृढता व्यक्त गरे।
श्रेष्ठले भनिन, “यही काम गर्ने बानी परिसक्यो । एक दिन काममा निस्किनँ भने छटपटी हुन्छ । घरमा बसेर समय बिताउनै गाह्रो हुन्छ । बुढेसकाल लाग्यो भन्दैमा घरैमा बसेर हुँदैन । हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ ।”
रासस
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima