काठमाडौं । गरिमा विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सम्पन्न साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गरेको छ।
बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा तिनका अनुसूचीहरू अनुमोदन गरेको बैंकले जनाएको छ।
बैंकको हालको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ। कम्पनीका अनुसार साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ पुग्नेछ। गरिमा विकास बैंकले देशभरका १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले नवीनतम डिजिटल बैंकिङ सेवाको माध्यमबाट ग्राहकलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्