Skip to content

भिसा समस्या नसुल्झिए थाइल्यान्डलाई ‘कालोसूची’मा राख्ने नाट्टाको चेतावनी

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा हुने समस्या समाधान गर्नको सरकारलाई आग्रह गरेको छ । नाट्टाले पर्यटक भिसा प्रक्रियामा ढिलाइ, अनिश्चितता र अग्रिम बुकिङका कारण नेपाली यात्रु तथा ट्राभल व्यवसायीले ठूलो आर्थिक जोखिम बेहोर्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेको हो ।

नाट्टाले भिसा प्रक्रिया पारदर्शी, व्यावहारिक र समयबद्ध नबनाइए थाइल्यान्डको पर्यटन प्रवद्र्धन तथा नयाँ पर्यटकीय प्याकेज बिक्री स्थगित गर्न बाध्य हुने चेतावनी दिएको छ ।

नाट्टाका अनुसार थाइल्यान्डको भिसा आवेदन प्रक्रियामा भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदा पनि आवेदकले अग्रिम हवाई टिकट र होटल बुकिङ पेस गर्नुपर्ने बाध्यता छ । थाई एयरवेज र थाई लायन एयरलगायतका वायुसेवाका सस्तो भाडाका टिकटमा रकम फिर्ता नहुने वा टिकट रद्द गर्दा उच्च शुल्क लाग्ने व्यवस्था भएकाले यात्रु तथा व्यवसायी थप आर्थिक जोखिममा परेका छन् ।

सम्पूर्ण कागजात पेस गर्दासमेत भिसा अस्वीकृत हुने वा निर्धारित यात्रा मिति सकिएपछि मात्रै निर्णय आउने घटनाले नेपाली यात्रु र व्यवसायीको लाखौँ अमेरिकी डलर बराबरको रकम जोखिममा परेको नाट्टाको भनाइ छ ।

त्यस्तै, विश्वव्यापी रूपमा प्रचलित अनलाइन बुकिङ प्रणाली तथा व्यावसायिक आरक्षण प्रणालीमार्फत गरिएका होटल बुकिङलाई पर्याप्त नमान्दै सम्बन्धित होटलबाट छुट्टै पुष्टि पत्र मागिने व्यवस्थाले प्रक्रिया थप झन्झटिलो बनेको नाट्टाले जनाएको छ ।

भिसा आउनुअघि नै अग्रिम रकम भुक्तानी गर्नुपर्ने, बुकिङमा अतिरिक्त सर्तहरू पूरा गर्नुपर्ने र भिसा अस्वीकृत हुँदा वा समयमै निर्णय नआउँदा रकम फिर्ता नहुने अवस्थाले आर्थिक शोषणको आशंका उत्पन्न गरेको नाट्टाले उल्लेख गरेको छ ।

भिसा प्रक्रियाका कारण नेपाली यात्रु तथा व्यवसायीले आर्थिक क्षति बेहोर्नुपर्ने तर अन्य पक्षले आर्थिक लाभ लिइरहने अवस्था देखिएकाले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने नाट्टाको माग छ ।

नाट्टाले मित्रराष्ट्रको भिसा नीति र सार्वभौम अधिकारको सम्मान गर्ने स्पष्ट पार्दै भिसा निर्णयसँग सम्बन्धित सम्पूर्ण आर्थिक जोखिम नेपाली यात्रु तथा व्यवसायीमाथि मात्रै थोपर्नु न्यायोचित नहुने जनाएको छ ।

यस विषयमा रोयल थाई एम्बेसीसँग तत्काल उच्चस्तरीय आपत्कालीन बैठक गर्न पत्राचार गर्नुका साथै निरन्तर पहल भइरहेको नाट्टाले जनाएको छ । नजिकिँदै गरेका राष्ट्रिय चाडपर्वका समयमा भिसा प्रक्रियामा थप ढिलाइ भए यात्रुहरूको आर्थिक क्षति बढ्न सक्ने उसको चिन्ता छ ।

भिसा प्रणालीमा सुधार नभए नाट्टाले आफ्ना सदस्य एजेन्सी तथा नेपाली पर्यटन व्यवसायीको लगानी र उपभोक्ताको हित संरक्षणका लागि थाइल्यान्डलाई नेपालीको बाह्य पर्यटनका लागि ‘कालोसूचीमा राखिएको गन्तव्य’ का रूपमा घोषणा गर्ने चेतावनी दिएको छ ।

नाट्टाले सम्भावित कदमका रूपमा थाइल्यान्डका नयाँ पर्यटकीय प्याकेजको बिक्री, वितरण तथा प्रवद्र्धन पूर्ण रूपमा रोक्ने, विज्ञापन तथा डिजिटल बजार प्रवद्र्धन बन्द गर्ने र नयाँ समूहगत बुकिङ तथा नियमित पर्यटकीय भ्रमण कार्यक्रम सञ्चालन स्थगित गर्ने जनाएको छ ।

त्यसैगरी, नेपाली यात्रुलाई भिसा प्रक्रिया सहज भएका, सुरक्षित र व्यावहारिक वैकल्पिक अन्तर्राष्ट्रिय गन्तव्य रोज्न प्रोत्साहित गरिने नाट्टाको भनाइ छ ।

नेपाली ट्राभल एजेन्सीहरूले दशकौँदेखि थाइल्यान्डलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्दै त्यहाँको पर्यटन उद्योगमा योगदान पु¥याउँदै आएको नाट्टाले जनाएको छ । त्यसैले नेपाली यात्रुले पनि सम्मानजनक, समयबद्ध र न्यायोचित भिसा प्रक्रिया पाउनुपर्ने उसको माग छ ।

नाट्टाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित कूटनीतिक निकायलाई थाई सरकार तथा रोयल थाई एम्बेसीसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।

भिसा प्रक्रियासम्बन्धी वास्तविक अवस्था स्पष्ट पार्न, आवश्यक छानबिन गर्न र नेपाली यात्रु तथा व्यवसायीलाई थप आर्थिक क्षतिबाट जोगाउन व्यावहारिक समाधान खोज्न पनि नाट्टाले माग गरेको छ ।

‘भिसाको ग्यारेन्टी छैन भने जबर्जस्ती आर्थिक जोखिम पनि स्वीकार्य छैन’ भन्ने धारणा अघि सार्दै नाट्टाले नेपाली यात्रुको रकम, समय र सम्मान तथा पर्यटन व्यवसायीको लगानी र हित संरक्षण गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima