काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) का अध्यक्ष गोकर्ण ढकालले महासंघले आगामी दिनमा नयाँ व्यावसायिक आइडियासँगै लगानीसमेत भित्र्याउने बताएका छन्।
‘नेपाल अनबाउन्डः नेपाली व्यवसाय सीमा पार’ कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले फिनेले अब आइडिया मात्रै नभई लगानीसमेत लिएर आउने बताएका हुन्।
उनका अनुसार फिनेले हङकङ, अस्ट्रेलियालगायतका देशमा यस्ता कार्यक्रम आयोजना गरिसकेको छ। विदेशमा कार्यक्रम सम्पन्न गरेपछि फिनेले नेपालमा पनि कार्यक्रम आयोजना गरेको हो। नेपालपछि तत्कालै दुबईमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने तयारी रहेको ढकालले जानकारी दिए ।
नेपालमा भने यस्ता कार्यक्रम शृङ्खलाबद्ध रूपमा आयोजना गरिने उनले बताए ।
‘फिनेले आगामी दिनमा लगानीको सुरुवात गर्दै छ। यस संस्थाले आइडिया मात्रै ल्याउँदैन, पैसा पनि ल्याउनेछ,’ ढकालले भने, ‘यसका लागि हामी चाँडै नै घोषणा गर्दै छौँ।’
फिनेले लगानीसम्बन्धी नयाँ योजना सार्वजनिक गर्न छुट्टै कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको उनले जानकारी दिए। उक्त कार्यक्रममार्फत महासंघले आगामी दिनमा अघि बढाउने लगानीसम्बन्धी योजनाबारे जानकारी गराइने उनको भनाइ छ।









प्रतिक्रिया दिनुहोस्